शोधपत्र अनियमितताको छानबिन प्रतिवेदन पेश • Image Khabar Image Khabar


शोधपत्र अनियमितताको छानबिन प्रतिवेदन पेश


Imagekhabar
१४ जेष्ठ २०७५, सोमबार ११:३१

शोधपत्र अनियमितताको छानबिन प्रतिवेदन पेश

काठमाडौं, जेठ १४ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिस (शोधपत्र) सम्बन्धी अनियमितताको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा थेसिस सम्बन्धमा गर्नुपर्ने उपयुक्त व्यवस्थाको रायसहित प्रतिवेदन पेश गर्न गठित छानबिन समितिले प्रतिवेदन पेश गरेको छ ।

छानबिन समितिले सोमबार त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन बुझाएको हो ।

त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले सम्बन्धित सरोकारवालासँग औपचारिक/अनौपचारिक छलफल, अन्तर्क्रिया तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

समितिको सदस्यमा निवृत्त प्राध्यापकद्वय प्रा डा लोकनारायण झा र प्रा डा रामबहादुर क्षेत्री, रत्नराज्य क्याम्पसका प्रा डा आनन्द शर्मा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सह–प्रा डा गिरीराज त्रिपाठी रहेका थिए ।

प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक प्रा डा सुवेदीले विश्वकै ठूलो र देशकै जेठो विश्वविद्यालयमा हुने अनुसन्धान कार्य र शोधकार्य गुणस्तरीय हुनुपर्ने र यसमा देखिएका विकृति विसंगति अन्त्य गर्न प्रतिवेदनमा सुझाव दिइएको बताए ।

प्रतिवेदन ग्रहण गर्दै उपकुलपति खनियाँले प्रतिवेदन अध्ययनपश्चात् कार्यकारी परिषद्को बैठकबाट प्रतिवेदनमा दिइएका सुझावलाई समेटेर उपयुक्त नीतिगत निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन समयमा विभिन्न सञ्चारमाध्यममा थेसिससम्बन्धी अनियमितताका खबर आएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्