७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


दाउरा भित्र्याउने चटारो


0
Shares

धादिङ, कात्तिक २४ । देशभरका किसान धान, कोदोलगायतका अन्नबाली भित्र्याउन व्यस्त भइरहेका बेला धादिङका किसानलाई भने अन्नबालीसँगै दाउरासमेत भित्र्याउने चटारो परेको छ ।

वर्षाको समयमा काटेर राखेका दाउरा हिउँदमा बाल्नका लागि अहिले उत्तरी धादिङका बासिन्दा संकलन गरी घर भित्र्याउन व्यस्त भएका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा अब अत्यधिक जाडो बढ्ने र हिमपातसमेत हुने भएपछि उनीहरु अहिले नै दाउराको जोहो गर्न लागेका हुन् ।

यहाँका बासिन्दाले खाना पकाउनेदेखि जाडोबाट बच्नसमेत दाउरा बाल्ने गर्दछन् । चिसो मौसमभरका लागि पुग्ने दाउरा उनीहरुले अहिले नै संकलन गरेर घरमा राख्ने गरेका छन् ।

छिमेकीहरु मिलेर पालै–पालो जंगलमा काटेर सुकाएको दाउरा बोक्ने चलन यहाँ छ ।

गाउँ नजिकैको जंगलको रुख काट्दा भने जंगल विनासको क्रम बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका उत्तिसका जंगल मासिने अवस्थामा पुगेका छन् ।

दाउरा काट्दा वैज्ञानिक वन व्यवस्थापनतिर कसैले पनि ध्यान नदिने र वर्षैपिच्छे जंगल फडानीमात्र हुने भएकाले समस्या उत्पन्न भएको छ । यसको बेलैमा नियन्त्रण नगर्ने हो भने जंगल विनाश हुनेमात्र नभई भविष्यमा ठूलो संकट आउनसक्ने चेतावनी विज्ञहरुले दिँदै आएका छन् ।