
म्याग्दी, कात्तिक २४ । म्याग्दीको मंगला गाउँपालिकाले सरकारी दरबन्दीविनै सञ्चालित सामुदायिक विद्यालयका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारका तर्फबाट आधारभूत र माध्यमिक तहमा कुनै पनि शिक्षकको कोटा प्राप्त नगरेका विद्यालयलाई २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
यो रकम चालू आर्थिक वर्षका लागि शिक्षकलाई तलबभत्तामा खर्च गर्न व्यवस्था गरिएको हो । आधारभूत र मावि तहमा सरकारी दरबन्दी नहुँदा स्थानीयले चन्दा संकलन र सामुदायिक बनको घाँस, दाउरा बेचेर शिक्षकहरुलाई तलबभत्ता उपलब्ध गराउँदै आएका थिए ।
गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई लक्षित गरी बजेट विनियोजन गरिएको रोकाले जानकारी दिए ।
गाउँपालिकाका दुईवटा माध्यमिक, कक्षा १ देखि ३ का ३ वटा र कक्षा १ देखि ८ सम्म सञ्चालित २ वटा आधारभूत तहका विद्यालयमा सरकारी दरबन्दी शून्य छ ।
प्रतिक्रिया दिनुहोस्