
प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)
काठमाडौं, कात्तिक २३ । अञ्जली शाक्यले २०५५ सालदेखि दिदीबहिनी नहुने दाजुभाइहरुलाई सामूहिक टीका लगाइदिने गरेकी छन् ।
काष्ठमन्डपमा सामूहिक भाइटीका लगाउने अञ्जली ‘दिदी’ले भूकम्पबाट काष्ठमन्डप भत्किएपछि भने त्यहीनजिकै सामूहिक भाइटीका लगाइदिने गरेकी छन् ।
काठमाडौं, नैकापका रामप्रसाद श्रेष्ठले २०५६ सालदेखि अञ्जली शाक्यसँग टीका लगाउँदै आएका छन् ।
आफ्नो दिदीबहिनी नभएका कारण वर्षेनि निधार खाली राख्नुपरेको भन्दै रामप्रसादले अञ्जली शाक्यसँग टीका लगाएर आत्मियता साट्न थालेको बताए ।
यस्तै, बाँसबारीका राजेश श्रेष्ठले पनि आफनो दिदी गुमाएपछि विगत ६ वर्षदेखि अञ्जलीकै हातबाट भाइटीका लगाइरहेका छन् ।
गोंगबु घर भएका जगदीश राजभण्डारी भने आफ्नो दिदीबहिनीको हातको टीका लगाएर पनि अञ्जली दिदीको हातबाट टीका थाप्न आउने गरेको बताउँछन् ।
दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाएर अञ्जली शाक्यले देखाएको आत्मियताको सम्मान गर्न आफू १० वर्षदेखि अञ्जली दिदीसँग पनि टीका लगाउन आउने गरेको उनले बताए ।
अञ्जली शाक्यसँग टीका लगाउन नेपालीसँगै विदेशीसमेत आएका छन् ।
पहिलोपटक नेपाल आएका क्यानडाका एक नागरिकले पनि नेपालीको आत्मियपन राम्रो लागेका कारण टीका लगाएको बताए ।
२१ वर्षदेखि निरन्तर भाइटीका लगाइरहेकी अञ्जली शाक्यले दिदीबहिनी नभएर कोहीपनि दाजुभाइले निधार खाली हुन नपरोस् भनेर वर्षेनि टीका लगाइदिने गरेको बताइन् ।
२०५५ सालमा १०८ जना दाजुभाइलाई सामूहिक भाइटीका लगाउन सुरु गरेकी अञ्जली शाक्यले वर्षेनि १०० भन्दा बढी दाजुभाइलाई टीका लगाउँदै आएकी छन् ।
चार्डपर्व त सबैले मान्न पाउनुपर्छ र हामी सबै समान हौं भन्दै समानताको सन्देश फैलाउन पनि टीका लगाउने गरेको उनले बताइन् ।
७१ वर्षमा हिँडिरहेकी अञ्जली शाक्य आफ्नो स्वास्थ्यले साथ दिएसम्म सामूहिक भाइटीका लगाउने बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्