
दशरथचन्द नगरपालिका–१, खालका ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर यही जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् ।
गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशनमा बसेको उनको भनाइ छ ।
विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वेक्षण भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगेपनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उनले बताए ।
‘सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसको हुँ’–उनले भने ।
उता, दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले भने गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको तर स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न सुरु नभएको जिकिर गरे ।
रकम विनियोजन भएको १० महिना बितिसकेको र पटक–पटक जग्गाधनीहरुसँग छलफल गर्दासमेत उनीहरु सडक खन्न सहमत नभएका कारण सडक निर्माणकार्य अगाडि बढ्न नसकेको उनले बताए ।
‘अझैपनि जग्गावालाहरु जग्गा दिन सहमत भएमा सडक निर्माणकार्य अगाडि बढाइनेछ’–उनले भने ।
यता, अनशनरत् हरिजितले भने सडक निर्माणकार्य सुरु नहुँदासम्म अनशन जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्