
प्रतीक्षा खनाल/प्रदीप तामाङ (इमेज)
काठमाडौं, कात्तिक २३ । विशेष अदालतमा मुद्दाको चाप बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ नेतृत्व पाएसँगै विशेष अदालतमा मुद्दाको चाप बढेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएपछि विशेष अदालतमा मुद्दाको चाप बढेको हो ।
अख्तियारले चालू आर्थिक वर्षको तीन महिनामै ८० भन्दा बढी मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ ।
आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को पहिलो तीन महिनाको तथ्यांकसँग तुलना गर्दा यस वर्षको मुद्दाको संख्या झन्डै दोब्बर छ ।
अख्तियारले सबैभन्दा बढी घुससम्बन्धी मुद्दा दर्ता गराएको छ । करिब ५० प्रतिशत मुद्दा घुससँग सम्बन्धित रहेको विशेष अदालतले जनाएको छ ।
त्यसैगरी, नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा पनि धेरै परेका छन् ।
त्यस्तै, अनियमितता, गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणका मुद्दा पनि विशेष अदालतमा विचाराधीन छन् ।
अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका २५३ मुद्दा र दुई वर्ष नाघेका करिब ३० मुद्दा विशेष अदालतमा विचाराधीन रहेको रजिष्ट्रार भीम श्रेष्ठले बताए ।
विशेष अदालतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भष्ट्राचारसम्बन्धी मुद्दाको सुनुवाइ र निर्णय गर्ने, राज्यविरुद्धको अपराधसँगसम्बन्धी मुद्दा सुनुवाइ र निर्णय गर्ने, सम्पत्ति शुद्धीकरण निवारणअन्तर्गत्का मुद्दा हेर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका आदेश तथा निर्णयउपर पुनरावेदन सुन्ने क्षेत्राधिकार छ ।
विशेष अदालतले दुईओटा इजालसबाट कार्यसम्पादन गर्दै आएको छ ।
मुद्दाको चाप बढेसँगै कार्यसम्पादनमा चुनौती आएपनि आफ्नो लक्ष्यअनुरुपको कामलाई अघि बढाइने विशेष अदालतले जनाएको छ ।
अख्तियारले पछिल्लो समयमा ठूला भ्रष्टाचारका मुद्दा भने दायर गर्न सकेको छैन ।
अख्तियारले पछिल्लो समयमा केही ठूला भ्रष्टाचारका विषयमासमेत अध्ययन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्