
दाङ, जेठ १७ । दाङको तुल्सीपुर कागारारमा रहेका कैदीबन्दीका लागि सरकारले विनियोजन गरेको रकम प्राप्त नहुँदा समस्या भएको छ ।
कारागारमा रहेका कैदीबन्दीका लागि सरकारले दैनिक जनही ४५ रुपैयाँ उपलब्ध गराउँदै आएको भए पनि तीन महिनादेखि सो रकम निकासा हुन सकेको छैन ।
फागुनदेखि कैदीबन्दीका लागि रकम नआउँदा कारागार व्यवस्थापनलाई समस्या परेको छ ।
चामलबाहेकका अन्य खाने सामग्री खरिद गर्न सरकारले जनही ४५ रुपैयाँका दरले उपलब्ध गराउँदै आएको थियो ।
त्यसैगरी सरकारले चामल प्रतिव्यक्ति सात सय ग्राम उपलब्ध गराउँदै आएको थियो ।
तर पछिल्लो समयमा रकम निकासा नहुँदा नेपाल खाद्य संस्थान अञ्चल कार्यालयबाट उधारोमा ल्याएर कैदीबन्दीलाई खुवाउने गरिएको कारागार शाखा तुलसीपुका निमित्त जेलर गिता अधिकारीले बताइन ।
कारागार शाखा तुल्सीपुरमा ३ सय ३१ जना कैदीबन्दी छन् ।
प्रतिक्रिया दिनुहोस्