२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालमा शल्यक्रियाबाट प्रसूति गराउने चलन बढ्दो


0
Shares

काठमाडौं, जेठ १७ । नेपालमा शल्यक्रियाबाट प्रसूति गराउने चलन निकै मौलाएको छ ।

सरकारी अस्पतालको तुलनामा निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीको संख्या अत्यधिक रहेको छ । कतिपय निजी अस्पतालमा त शतप्रतिशतसम्म ‘सिजेरियन डेलिभरी’ गराउने गरिएको छ ।

प्रसुती गराउनका लागि गरिने शल्यक्रियालाई सिजेरियन अर्थात सि-सेक्सन भनिन्छ । प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने अवस्थामा मात्र सिजेरियन डेलिभरी गर्नु पर्ने हो ।

सि–सेक्सन गर्नुपर्ने जोखिममा मुख्यत २० वर्षभन्दा मुनी र ३५ वर्षभन्दा माथिका महिलाहरु हुन्छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुल गर्भवती महिला मध्ये १५ प्रतिशतमा मात्र सि-सेक्सन गर्नुपर्ने अवस्था आउन सक्छ भने उक्त १५ प्रतिशत मध्ये ५ प्रतिशत महिलामा सि-सेक्सन अनिवार्य हुने गर्दछ ।

५ प्रतिशतमा सीमित राख्नुपर्ने सिजरियन डेलिभरी काठमाडौंमा भने ५७० प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्याङक अधिकारी पुष्कर विजुक्छे बताउँछन् ।

प्रसुती गराउन अस्पताल जाने महिलाको संख्या निजी को तुलनामा सरकारीमा बढि भए पनि सिजेरियन डेलिभरीको संख्या भने निजि अस्पतालमा धेरै छ ।

काठमाडौंका महँगा निजी अस्पतालहरुले गत वर्ष न्युनतम ५० देखि शत प्रतिशत सिजेरियन डेलिभरी गरेका थिए ।

प्रसुती गृह काठमाडौंमा गत बर्ष प्रसुतीका लागी आएका १९ हजार १ सय ३९ महिलामध्ये जम्मा ५ हजार १ सय ८७ को सिजेरियन डेलिभरी गरिएको थियो भने सँगै रहेको नर्भिक अस्पतालले ४ सय ६५ मध्ये ३ सय ६६ को डेलिभरी सि–सेक्सनबाट गरेको थियो ।

गर्भवती महिला आफैं र परिवारको दबाबमा पनि सिजेरियन डेलिभरी बढ्दै गएकोे परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालका उप–प्रमुख डाक्टर गेहनाथ बरालले बताए ।

गएको तिन वर्षको सिजेरियन डेलिभरीको तथ्याङक प्रतिशत ३५, ४३ र ३६ रहेको छ । यो तथ्याङकले पनि बढ्दो दर प्रष्ट पार्दछ ।

सिजरियन डेलिभरीको सम्बन्धमा महिला स्यम्, उनीहरुका परिवार र डेलिभरी गराउने चिकित्सकहरुका कुरा एक आपसमा बाझिने गर्दछ ।

दुवै पक्षले एक अर्कालाई दोष दिनुले पनि बढ्दो सि–सेक्सनको विषयमा प्रश्नचिन्ह उठेको छ ।