काठमाडौं, कात्तिक २२ । ओलम्पिकको एसियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत् बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।
म्यानमारको याङगोनस्थित थुवुन्ना रंगशालामा भएको समूह ‘सी’अन्तर्गत्को पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा अग्रता भने नेपालले लिएको थियो । खेलको ११औं मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् ।
त्यस्तै, खेलको ३७औं मिनेटमा भारतले एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।
यस खेलसँगै नेपाल र भारतले १–१ अंक जोडेका छन् ।
भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो । यसअघि, खेलेका ८ खेलमा नेपाल ७ खेलमा पराजित भएको थियो भने एक खेलमात्र बराबरीमा सकिएको थियो ।
सन् २०१६ मा भएको दक्षिण एसियाली खेलकुदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत् पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
समूह ‘ए’ र ‘बी’ मा पाँच/पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’मा चार/चार टोली छन् ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेसमेत दोस्रो चरण पुग्नेछ ।
ओलम्पिकको एसियाली छनोटअन्तर्गत् नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमार र बंगलादेश छन् ।
नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमारसँग तथा कात्तिक २७ गते बंगलादेशसँग खेल्नेछ । रासस

















प्रतिक्रिया दिनुहोस्