
काभ्रेपलाञ्चोक, कात्तिक २२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचारमुक्त भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनौती नगरपालिका–२ र ३ नम्बर वडा कमिटीद्वारा बिहीबार कुसादेवीमा आयोजित देउसी–भैलो एवं सांस्कृतिक कार्यक्रममा उनले भने–‘यो सरकार भ्रष्टाचारमुक्त छ र गर्छ भन्नेमा पनि शंका नगर्नोस् ।’
मन्त्री बाँस्कोटाले आफूले भ्रष्टाचार गरेको कसैलाई लागेमात्रै सात पुस्तासम्म छानबिन गर्न आग्रह गर्दै केही समयअघि आफूलाई ‘भ्रष्टाचारी मन्त्री’ भनेर चरित्र हत्या गर्ने खोजेकाले ‘हिम्मत् भए लिन आऊ’ भनेको बताए ।
उनले भने–‘मैले कहीँ–कतैबाट पैसा खाएको प्रमाणित गरेर देखाऊ, जिन्दगीभर उसको दास बन्नेछु ।’
मन्त्री बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचारमुक्त मुलुक बनाउने अभियानमा लागेको चर्चा गर्दै हचुवाका भरमा जोसुकै व्यक्तिको चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको धारणा व्यक्त गरे ।
उनले भने–‘मर्दा कसैले केही लाने होइन । कात्रोमा खल्ती पनि हुँदैन । नाम र इज्जत लिएर जाने हो । हामी सोहीअनुरुप काम गर्दैछौं ।’
मन्त्री बाँस्कोटाले ठूल्ठूला परियोजना निर्माणका लागि गृहकार्य गरिरहेको वर्तमान सरकार लगानी भित्र्याउने प्रयासमा रहेको बताउँदै ‘केही परियोजना हामी आफ्नै लगानीमा नसक्ने पनि हुनसक्छन् । त्यसैले सरकार लगानी भित्र्याउने प्रयास गर्दैछ’–भने ।
‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा सरकार लागिपरेको छ’–उनले भने–‘हामी सरकारमा खान गएका हैनौं । देश बनाउने महान् काम गर्न गएका हौं । कसैले चिया पसलमा नकारात्मक सोचले फलाक्दैमा हाम्रो अभियानमा कुनै बाधा पर्दैन ।’ रासस
प्रतिक्रिया दिनुहोस्