
बजेट सार्वजनिक भएपछि सवारी–साधन, इलेक्ट्रिक्स सामग्री, सुर्ती र मदिराजन्य पदार्थ, तेल, जंकफुड, चक्लेटलगायतका सामग्रीहरुको भाउ बढेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा मोटरसाइकल र चारपांग्रे सवारी–साधनमा इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ ।
१५० सीसी क्षमताभन्दा बढीका मोटरसाइकल र एक हजार सीसीभन्दामाथिका चारपांग्रे सवारी–साधनमा थप अन्तःशुल्क कर लाग्नेछ ।
दूरसन्चार, इन्टरनेट सेवा प्रदायक र रेमिट्यान्स कम्पनीको आयकर ५ प्रतिशतले बढाएर ३० प्रतिशत पुर्याइएको छ ।
सरकारले आम्दानीअनुसारको कर लगाउने नयाँ प्रणाली पनि सुरु गरेको छ । सरकारले उच्च आम्दानी भएकालाई धेरै र कम आम्दानी भएकालाई कम कर लगाउने व्यवस्था गरेको हो ।
धूमपान र मदिराजन्य सामग्रीमध्ये चुरोट र बिँडीमा प्रतिखिल्ली २५ पैसा र सुर्ती, खैनी, गुट्खा, पानमसलामा प्रतिकिलो २५ रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाइएको छ ।
त्यसैगरी, जंकफूड र इनर्जी ड्रिंक्समा पनि कर बढाइएको छ । इनर्जी ड्रिंक्समा २५ रुपैयाँ अन्तःशुल्क कर थपेको छ भने कोका मिसिएको चक्लेटमा पनि मूल्यवृद्धि भएको छ ।
खाद्यवस्तुहरुमा भएको मूल्यवृद्धिले बजार र उपभोक्तामा नकरात्मक प्रभाव पर्ने देखिन्छ ।
बजेट विनियोजन गर्दा यसको असरबारे स्पस्ट मूल्यांकन नहुँदा चोरी–निकासी र चुहावटमा पनि वृद्धि हुने अर्थशास्त्रीहरु बताउँछन् ।
बजेटमा कर बढाएपनि नयाँ सामान आएपछिमात्र सोको मूल्य कायम हुने व्यवसायीहरुको भनाइ छ । उनीहरुले अहिले नै बजार मूल्य नबढेको दाबी गरेका छन् ।
बजेट सार्वजनिक भएलगत्तै दैनिक उपभोग्य वस्तुको बजार भाउ बढ्दा आफूहरु मारमा परेको सर्वसाधारणको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्