१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा, अझै विश्वसनीय छानबिन भएन


0
Shares

काठमाडौं, जेठ १९ । आज जेठ १९ अर्थात् नेपाली राजनीतिले कठोर ‘कालसत्य’ ब्यहोरेको दिन ।

आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो । जहाँ राजा वीरेन्द्र्रको वंशनाश गरिएको थियो ।

समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।

जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।