२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सशस्त्रको लगातार दोस्रो जित, प्रदेश–१ बाहिरियो


0
Shares

शनिबार भएको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको सशस्त्रले प्रदेश–१ लाई ४२औं ओभरमा १२७ रनमै अलआउट गर्‍यो ।

प्रदेश–१ का लागि ओपनर सन्दीप ढुंगानाले सर्वाधिक २९ रन जोड्दा मन्जित थापाले २७ तथा पुष्प थापाले २० रनको योगदान गरे ।

सशस्त्रका लागि करण केसी, भुवन कार्की, बसन्त रेग्मी र अमरसिंह राउटेलाले समान २/२ विकेट लिए ।

जवाफमा १२८ रनको चुनौती सशस्त्रले मात्र १६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

सशस्त्रका लागि अनिलकुमार साहले अविजित ६२ रनको योगदान गर्दा पृथु बास्कोटाले अविजित ३२ रन जोडे ।

जितसँगै २ खेलबाट ४ अंक जोडेको सशस्त्र समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।

सबै ४ खेल खेलिसक्दा एक खेलमात्र जितेको प्रदेश नम्बर–१ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रदेश–७ समूह ‘बी’को शीर्ष स्थानमा
प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को खेलमा प्रदेश नम्बर–३ लाई २ विकेटले पराजित गर्दै प्रदेश नम्बर–७ समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश–३ ले दिएको ११७ रनको विजयी लक्ष्य प्रदेश–७ ले ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रदेश–७ का लागि सन्जु दमाइँले २५, विजय रानाले २४ तथा अरुन ऐरीले २१ रनको योगदान गरे ।

समूह ‘बी’मा सबै ४ खेल खेलिसक्दा ५ अंक जोडेको प्रदेश–७ शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो खेलमा पहिलो पराजय भोगेको प्रदेश–३ दुई अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितअन्तर्गत आइतबार प्रदेश नम्बर–४ र त्रिभुवन आर्मी क्लब तथा प्रदेश नम्बर–५ र कर्णाली प्रदेश आमने–सामने हुनेछन् ।