प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा • Image Khabar Image Khabar


प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा


Imagekhabar
२० जेष्ठ २०७५, आईतवार १३:५६

प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा

कपिलवस्तु, जेठ २० । प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था कपिलबस्तुमा संकटग्रस्त छ ।

मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध प्रतिबन्धित डाईक्लोफेनेक नामक औषधिका कारण संकटमा पर्र्दै गएको हो ।

सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेमिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएकोले ७ बर्ष अघि जिल्लालाई डाईक्लोफेमिनक मुक्त घोषणा गरिएको थियो ।

तर, अझै पनि कृषकहरुले आफ्ना पशुहरुलाई उक्त औषधी सेवन गराउने गरेको स्थानीय कृष्ण नारायण तिवारीले बताए । सरकारले उक्त औषधीमा प्रतिबन्ध लगाए पनि त्यसबारे अझै कृषककहरुलाई थाहा नभएको उनको भनाइ छ ।

खेत, नदी, चौर लगातयका ठाउँमा मरेका गिद्ध देखिनु सामान्य बनेको तिवारीले बताए ।

सरकारले उक्त औषधीलाई प्रतिबन्ध लगाए पनि बजारमा सजिलै पाईने र सीमापारीबाट समेत ल्याएर प्रयोग गर्ने पाइएको छ ।

डाईक्लोफेनिकको प्रयोग नरोकिएकाले नै सिनो देखिने बित्तिकै झुम्मिने गिद्ध अचेल देखिन छाडेको अर्का स्थानीय सरफुद्धिन मुसलमान बताउँछन् । ‘प्रकृतिको कुचिकार’ मानिने गिद्ध अहिले टाढा टाढासम्म पनि देख्न पाइँदैन,’ उनले भने ।

गिद्ध लोप हुन थालेपछि जिल्लाको ठाउँ ठाउँमा फालेका सिनोको दुर्गन्ध बढेर सर्वसाधारणले सास्ती भोग्नु परेको छ । सदरमुकाम वरपरका गाउँमा फालेको सिनो गन्हाएर आवत जावत गर्न गाह्रो भईरहेको स्थानीयको गुनासो छ ।

जिल्लामा डाईक्लोफेमिक र मानवीय अतिक्रमणका कारण गिद्धहरुको जीवन संकटमा परेको पशु कार्यालयका अब्दुल सलामले जनाए । गिद्धलाई नराम्रो मानिने यस समाजमा अहिले यसको महत्व बल्ल थाहा भएको उनी बताउँछन् ।

मानिसका लागि समेत प्रयोग हुने डाईक्लोफेनक पशुका लागि पनि प्रयोग हुने गरेको छ । पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधिले गिद्धको बिनासमा ठुलो भूमिका खेलेको पशु सेवा कार्यालयका प्रमुख सलामले बताए ।

डाईक्लोफेनक औषधी लगाइएका पशुको सिनो खाएपछि गिद्धको मृगौलामा असर गर्ने हुँदा गिद्ध मर्ने गरेको उनले बताए ।

औषधी ऐन २०३५ ले डाईक्लोफनेक उत्पादन, प्रयोग, बिक्रीवितरण, आयात, निर्यात र भण्डारण गरेका पाईए ३ बर्ष कैद वा ५ हजार जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

विश्वमा ८५ प्रतिशत बढी गिद्धको मृत्यु डाईक्लोफेनिकले नै भएको पशु चिकित्सकहरु बताउँछन् । गिद्धको सुरक्षित बासस्थल मानिने अग्ला अग्ला सिमल र सिसौका रुखहरु काटिनुले पनि गिद्धलाई लोप हुने अवस्थामा पु¥याएको चराविदको भनाइ छ ।

गिद्धले मरेको सिनो खाएर प्रकृती सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण आवश्यक रहेको नेपाल पंक्षी संरक्षण संघका भुपाल नेपालीले बताए । गिद्धको संख्या घट्दा मरेका पशुको् दुर्गन्धका साथै सिनो खाने मुसा, स्याल र भुस्याहा कुकुरको संख्या बृद्धि भई विभिन्न महामारीजन्य रोगको प्रकोप बढ्ने उनले बताए ।

सामान्यतया एउटा गिद्धले ३ दिनमा १ किलो तथा बर्षमा १२० किलो सिनो खान्छ ।

यसले सिनो र फोहर खाएर वातावरण स्वच्छ राख्न सहयोग गर्दछ । विश्वमा अहिले करिब २३ प्रजातिका गिद्ध पाईन्छन् । जसमा दक्षिण एशियामा ९ र नेपालमा नौ प्रजातिका भेटिन्छन् ।

नेपालमा पाईने प्रजातिमा सानो खैरो, राज, हिमाली, खैरो र हाडफोर, डंगर, सुन, गोब्रे हुन् । जसमध्ये डंगर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अति संकटापन अवस्थामा छन् । सन् २०११ मा गरिएको गिद्ध सम्बन्धी अध्ययनमा नेपाल डांगर गिद्धको संख्या ९१ प्रतिशतले घटेको देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्