८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


मुसिकोटमा व्यवस्थित बसपार्क नहुँदा सवारी पार्किङमा समस्या


0
Shares

मुसिकोट, कात्तिक २२ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा व्यवस्थित बसपार्क नहुँदा सवारी पार्किङमा समस्या भएको छ ।

२०६२ सालमा दाङ–सल्यान हुँदै रुकुमसम्मको यातायात सेवा जोडिएपछि सल्लेमा निर्माण गरिएको बसपार्क जीर्ण बन्दै गएकाले पार्किङ गर्न समस्या भएको हो । पछिल्लो समय जिल्लामा यातायातका साधन बढेसँगै एकदशक अघिबाट अस्थायी रुपमा प्रयोग हुँदै आएको सल्ले बसपार्कमा समेत पार्किङ गर्ने ठाउँको अभाव भएको छ ।

पार्किङ अभावकैै कारण मुसिकोटको बागबजार, पातुखोला, मठ र बसपार्क वरपरको सडकखण्डको छेउ नै पार्किङस्थल बन्न थालेको छ । सडक छेउको पार्किङले जिल्ला अस्पताल सल्लेमा उपचारका लागि आवातजावत गर्ने बिरामी, पैदल यात्री र विद्यार्थीलाई थप समस्या देखिएकोे छ ।

जिल्लाका सर्वसाधारणले भने मनोमानी ढंगले मुसिकोट बजार क्षेत्रमा बढ्दै गएको सडक पार्किङको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गर्दै आएका छन् ।

यसैबीच मुसिकोट नगरपालिकाले अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न आगामी वर्षबाट नयाँ बसपार्क सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ । बसपार्क निर्माणका लागि मुसिकोट नगरपालिका–२ को भेरीस्थित २१ रोपनी जग्गामा डिपीआर गरिएको र यसवर्षको अन्तिमबाट निर्माणको काम सुरु हुने बताइएको छ ।