
पोखरा, जेठ २० । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् ।
निर्धारित ४२ दशमलव १ सय ९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए ।
तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।
म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
म्याराथनमा ६१ धावक सहभागी भएका थिए । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत ‘अन्नपूर्ण डे’ का अवसरमा म्याराथन आयोजना गरिएको हो ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले विश्वमै पहिलोपल्ट सन् १९५० जुन ३ मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मतिमा उक्त दिवस मनाइन्छ ।
अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुईले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुक आइपुगेको हो ।
महोत्सवको तेस्रो एवं अन्तिम चरणको समापन समारोहमा आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतले धावकलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्