सशस्त्र प्रहरी र प्रदेश–५ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा • Image Khabar Image Khabar


सशस्त्र प्रहरी र प्रदेश–५ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १९:४३

सशस्त्र प्रहरी र प्रदेश–५ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

सोमबार भएका खेलमा सशस्त्रले प्रदेश नम्बर–२ लाई र प्रदेश नम्बर–५ ले प्रदेश नम्बर–३ लाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् ।

सशस्त्रले प्रदेश–२ लाई ९६ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको सशस्त्रले ६ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो ।

दोस्रो विकेटका लागि कीर्तिमानी २३१ रनको साझेदारी गर्नेक्रममा प्रदीपसिंह ऐरीले १५८ तथा सुवास खकुरेलले १०३ रन बनाए । दिभ्यांशु मल्लिकले ५ विकेट लिए ।

जवाफमा वर्षाले प्रभावित खेलमा २८ ओभरमा २०२ रनको नयाँ चुनौती पाएको प्रदेश–२ ले ९ विकेटको क्षतिमा १०५ रनमात्र बनाउन सक्यो ।

हरिशंकर शाहले ३८ तथा सुरज पटेलले ३४ रन बनाएबाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बसन्त रेग्मी र करण केसीले समान ३/३ विकेट लिए ।

सोमबारै मूलपानी मैदानमा भएको खेलमा प्रदेश–५ ले प्रदेश–३ लाई ‘डकवर्थ लेविस’ नियमअनुसार ३० रनले हरायो ।

पहिले ब्याटिङ गरेको प्रदेश–३ ले ४४ ओभर ५ बलमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।

भूपेन्द्र थापाले सर्वाधिक ४६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा लाल अधिकारीले ३३ रन खर्चेर ४ विकेट लिए ।

जवाफमा प्रदेश–५ ले २० ओभर ५ बलमा ८९ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डकवर्थ लेविस नियमअनुसार ३० रनले विजयी भएको हो ।

यी खेलपछि समूह ‘ए’बाट त्रिभुवन आर्मी र सशस्त्रले शतप्रतिशत नतिजासहित तथा समूह ‘बी’बाट प्रदेश–५ ले अन्तिम चारमा ठाउँ बनाइसकेका छन् ।

समूह ‘बी’मा प्रदेश नम्बर–७ को ४ खेलबाट ५ अंक छ भने २ खेलबाट नेपाल पुलिस क्लबको ३ अंक छ । २ अंकको प्रदेश नम्बर–३ र १ अंकको कर्णाली बाहिरिइसकेको अवस्थामा प्रदेश–७ र नेपाल पुलिसमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्