
लक्ष्मी लामा (इमेज)
काठमाडौं, कात्तिक २१ । सरकारले ‘नेपाल भ्रमण वर्ष’ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाललाई समृद्ध बनाउने सरकारी अभियानलाई पूरा गर्न नेपाल पर्यटन बोर्डले तयारीसमेत सुरु गरिसकेको छ ।
त्यसका लागि नेपाल पर्यटन बोर्डले १०० नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ ।
सन् २०१३ देखिको तथ्यांक हेर्दा पछिल्ला वर्षमा पर्यटकको संख्या बढ्दै गएको छ ।
२०१३ मा ७ लाख ९७ हजार ६१६ जना पर्यटकले नेपाल भ्रमण गरेकामा २०१४ मा ७ लाख ९० हजार ११८, २०१५ मा ५ लाख ३८ हजार ९७०, २०१६ मा ७ लाख ५३ हजार, २०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सन् २०१८ को सेप्टेम्बरसम्म ७ लाख ७२ हजार ७९८ पर्यटक भित्रिएका छन् । तथ्यांक हेर्दा नेपाल आउने पर्यटकको संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको देखिन्छ ।
नेपालमा बढी पर्यटक भित्र्याउन पर्यटन बोर्डले विदेशमासमेत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
त्यस्ता कार्यक्रममार्फत् पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले बताए ।
नेपाल भ्रमणमा आउने सबैभन्दा बढी भारतीय र चिनियाँ पर्यटक छन् । त्यसबाहेक अमेरिकी र युरोपेली मुलुकबाट पनि धेरै पर्यटक नेपाल आउने गरेका छन् ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण र सगरमाथाको अवलोकन गर्न पर्यटकहरु नेपाल आउने गर्दछन् । त्यसैगरी, नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न बढी पर्यटक आउने गरेका छन् ।
पर्यटकलाई थप आकर्षित गर्न पर्यटन बोर्डले नयाँ पर्यटकीय गन्तव्यकोसमेत विकास गर्दै आएको छ । पछिल्लोपटक बोर्डले थप १०० नयाँ पर्यटकीय गन्तव्यसमेत घोषणा गरेको छ । यसले पनि पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा बोर्डले लिएको छ ।
बोर्डले यो वर्ष अर्थात् सन् २०१८ मा १२ लाख पर्यटक भित्रिने र अर्को वर्ष ३४ प्रतिशतले वृद्धि हुने अपेक्षा बोर्डको छ ।
सरकारले बढीभन्दा बढी पर्यटक भित्र्याएरमात्र पर्यटन क्षेत्रको प्रवर्धन र आर्थिक समृद्धिमा सहयोग पुग्दैन । पर्यटकको नेपाल बसाइँ लम्ब्याउन र गुणस्तरीय पर्यटक भित्र्याउने पहल सफल भएमामात्र भ्रमण वर्षले सफलता पाउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्