१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


औषधि खुवाइएका जनावरको सिनो खाएपछि गिद्ध मर्न थाले (भिडियो)


0
Shares

-वासुदेव वर्मा/ईमेज:
कपिलवस्तु, जेठ २३ । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको संख्या कपिलवस्तुमा घट्दै गएको छ ।

मरेको सिनो खाई प्रकृतिलाई दुर्गन्धबाट जोगाउने सहयोगीका रुपमा रहेको गिद्धको अस्तित्व संकट हुन थालेको हो ।

केही वर्ष पहिले सिनो देख्नेबित्तिकै एकैठाउँ थुप्रिने गिद्धहरु अहिले लोप हुन थालेका छन् ।

मरेका र किटाणुयुक्त मृत जीवको शरीर खाएपनि सहज पचाउने क्षमता भएकोले गिद्धलाई निकै हितकरी पक्षी मानिन्छ ।

मरेका जीवजन्तु खाई प्रकृतिलाई स्वच्छ बनाउने गिद्धको अस्तित्व लोप हुन थालेपछि स्थानीयले समेत चासो दिन थालेका छन् । डाइक्लोफेनेक नामक औषधि खुवाई मरेका जनावरको मासु खाएपछि गिद्ध मर्ने गर्दछन् ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ सालमा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक नामक औषधि उत्पादन, आयात, प्रयोग र बिक्रीमा समेत प्रतिबन्ध लगाएको थियो ।

७ बर्ष अघि कपिलवस्तु जिल्लालाई डाइक्लोफेनेक मुक्त घोषणा गरेपनि कृषकहरुलाई जानकारी नहुँदा पशुलार्ई त्यहीँ औषधि खुवाउने गरेको स्थानीयको भनाइ छ ।

ठाउँठाउँमा फालेको सिनोको दुर्गन्धका कारण आवतजावत् गर्न समेत गाह्रो भइरहेको स्थानीयको गुनासो छ ।

डाइक्लोफेनेक औषधी खुवाएका जनावरको सिनो खाएपछि गिद्धको मृगौलामा गम्भीर असर गर्ने भएकोले गिद्ध मरेको पशु कार्यालयका अब्दुल सलाम बताउँछन् ।

दिनमा १ किलो तथा बर्षमा १ सय २० किलोसम्म सिनो खान सक्ने गिद्ध स्वच्छ वातावरणका लागि आवश्यक छ ।

गिद्धको अस्तित्व कपिलवस्तुमा मात्र नभई नेपालबाटै लोप हुने स्थितिमा रहेकोले गिद्ध संरक्षणमा सरकारले पनि थप चासो बढाउनु जरुरी छ ।

भिडियो