१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन


0
Shares

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताए ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनकाक्रममा जेभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गरे ।

उनले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कुल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताए ।

प्राविधिक कोइरालाकाअनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डीपीआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुगेका पर्यटनमन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माणकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री अधिकारीले भने–‘यसको डीपीआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।’

काठमाडौंबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सन्चालन गर्ने दौडानकाक्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो ।

काठमाडौं नभइ सोझै यहीँबाट छिमेकी मुलुकमा जानसक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उनले बताए ।

विमानस्थलको राष्ट्रिय योजना निर्माणको तयारीमा रहेको बताएका उनले हाल सुचारु सुर्खेत विमास्थलको विकल्प आवश्यक रहेको बताए ।

कर्णालीका पर्यटकीय क्षेत्रहरु मुगु–रारा, मानसरोवर, शे–फोक्सुन्डो, छायाँनाथ पुग्ने सयौं यात्रीको लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको उनले बताए ।

प्रदेशले आफ्नै कानुनमार्फत् पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औंल्याए ।

उनले भने–‘कर्णालीका हुम्ला र डोल्पाका जनताका लागि हवाईमार्ग एकमात्र विकल्प हो, त्यसका लागि काठमाडौंका सबै एअरलायन्सलाई तल स्टेसन बनाउन अनुरोध गरिएको छ ।’

उनकाअनुसार सुर्खेतको काँक्रेविहार क्षेत्रको निर्माणकार्यमा जोड दिइनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताए ।

‘सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ । तर, अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ’–उनले भने ।

पूर्वसंस्कृति तथा पर्यटनमन्त्रीद्वय यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभइ अन्तर्राष्ट्रिय मापदन्डको विमानस्थल निर्माण गर्न आग्रह गरे ।

प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सुझाउँदै मन्त्रीद्वयले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटनमन्त्रीलाई अनुरोध गरेका थिए ।

प्राधिकरणले गुगल नक्सांकनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगंगा, उपत्यका बाहिरको भेरीगंगा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्सांकन गर्ने प्राधिकरणले जनाएको छ ।

हाल कर्णालीमा ८ ओटा विमानस्थल सन्चालनमा रहेको जनाइएको छ ।