गोसाइँकुन्डमा केबलकार निर्माण हुने, दूरी ‘८ किलोमिटर’ • Image Khabar Image Khabar


गोसाइँकुन्डमा केबलकार निर्माण हुने, दूरी ‘८ किलोमिटर’


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार १५:०९

गोसाइँकुन्डमा केबलकार निर्माण हुने, दूरी ‘८ किलोमिटर’

गोसाइँकुन्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइएपनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् ।

चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलोपटक २२ मेगावाट विद्युत् उत्पादन गरेसँगै गोसाइँकुन्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिनसक्ने भएको छ ।

जिन्दगीमा एकपटक पुग्नैपर्ने तीर्थ गोसाइँकुन्डको यात्रा सहज बनाउन प्रदेश नम्बर–३ को सरकारले गरेको निर्णयले अब धुन्चे—गोसाइँकुन्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ ।

केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाइँकुन्ड सरर जान सहज हुनेछ ।

धुन्चे–गोसाइँकुन्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दूरी धुन्चेबाट गोसाइँकुन्ड ८ किलोमिटर रहेको, भगवानशंकर गोसाइँबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गरेको मार्गलाई नै अनुशरण गरिएको तथा गोसाइँकुन्ड गाउँपालिकाकै वडा नम्बर–५ र ६ अन्तर्गत् धार्मिकमार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

केबलकार निर्माणका लागि रु दुई अर्ब लागत अनुमान गरिएको छ ।

रसुवाका पाँचओटै गाउँपालिका र केही निजी क्षेत्रकोसमेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताए ।

स्याफ्रु—मैलुङ सडक निर्माण भइसकेको र धुन्चे जोड्ने करिब पाँच किमि सडकको निर्माण प्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घन्टामा धुन्चे पुग्ने वातावरण सिर्जना भएको गोसाइँकुन्ड गाउँपालिकाले जनाएको छ ।

भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुन्चे–गोसाइँकुन्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भने–‘स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखौं-लाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।’

गोसाइँकुन्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर–परिवारमा सुख–शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भइ धनधान्य हुने विश्वास रहिआएकाले जो–कोही मानिसले पनि जिन्दगीमा एकपटक भएपनि यो कुन्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताए ।

धुन्चे–गोसाइँकुन्ड केबलकारको अवधारणा २०६० सालबाट तत्कालीन समयमा राससले समाचार उत्पादन गरी गोरखापत्र र रेडियो नेपालले प्रकाशन÷प्रसारण गरेको र जनहितकारी कार्यमा यी संस्थाले पुुर्‍याएको योगदान अविस्मरणीय रहेको रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्मरण गरे ।

धुन्चे–गोसाइँकुन्ड केबलकार निर्माणले अब भक्तजनमात्रै होइन, पर्यटकसमेत वृद्धि हुने बताउँदै रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपानेले गोसाइँकुन्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताए ।

प्रदेश नम्बर–३ सरकारले स्याफ्रुवेसी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रल्हाद योञ्जन रेडपान्डा पदमार्ग नामाकरण गरेकामा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् ।

लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले अबका दिनमा लाङटाङ क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनेमा लाङटाङवासी आशावादी रहेको बताए ।

डा. योञ्जनकाअनुसार रसुवाको हिमाली क्षेत्रमा रेडपान्डा भएको पुष्टि सन् १९८७ मा नै भएको थियो ।

उनको अध्ययनबाट चन्दनबारी तथा लाङटाङ पदमार्गको ठूलो स्याफ्रुको माङ्चे जंगललगायत क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपान्डा पाएको पुष्टि गरेपछि संरक्षणका लागि सहभागितामूलक तवरले सबै क्षेत्र अगाडि बढिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

धुन्चे–गोसाइँकुन्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्णरुपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।

भारतीय नागरिक मानसरोवरतर्फ
रसुवागढी नाकाबाट मानसरोवर जाने भारतीय नागरिकको संख्या बढ्दै गएको छ ।

गत वैशाखदेखि आगमन सुरु भएको धार्मिक मानसरोवर यात्राका लागि सोमबार साँझसम्म भिसा प्रणालीबाट एक हजार ५६५ भारतीय नागरिक रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।

निमित्त अध्यागमन प्रमुख मानबहादुर बरालकाअनुसार मानसरोवर धार्मिक क्षेत्र भएकाले केरुङ हुँदै जाने भारतीय धार्मिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । मानसरोवर जानेको आगमन असोजसम्म चल्नेछ ।

यस्तै, रसुवागढी नाकाबाट नेपाल–चीन आउने–जाने पर्यटकको संख्या पनि उल्लेखनीय वृृद्धि भएको छ । यो नाकाबाट चालू आर्थिक वर्षको अहिलेसम्म १३ हजार ४७९ जना नेपाल भित्रिएका छन् ।

यहाँबाट ६० भन्दा बढी मुलुकका पर्यटक भिसा प्रणालीमार्फत् चीनतर्फ प्रस्थान गरेका छन् ।

चालू आर्थिक वर्षको अहिलेसम्म ८ हजार २८२ पर्यटक यो नाकाबाट चीनतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय रसुवागढीका अभिलेखकर्ता सागरमणि पोख्रेलले जानकारी दिए ।

मानरोवर आउने भारतीय नागरिकका लागि पश्चिम क्षेत्र हुम्लाबाट पनि हेलिकोप्टर सन्चालन भइरहेको छ ।

सिम्रिक एअरकाअनुसार हुम्लाको सिमकोटबाट हिल्सासम्म भारतीय धार्मिक पर्यटकका लागि विभिन्न कम्पनीका १० ओटा हेलिकोप्टर प्रयोग भइराखेको छ ।

नेपाल र चीन सिमानाको १२ हजार ५०० फिट उचाइ हिल्सामा हेलिकोप्टरबाट झरेपछि उनीहरु चिनियाँ मोटरबाटोबाट मानसरोवरतर्फ लाग्ने गरेको पाइलट विवेक खड्काले बताए ।

मानसरोवर जाने भारतीय तीर्थयात्री हिल्साबाट गएको तीन/चार दिनपछि फर्कने गरेको पाइएकोसमेत पाइलट खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्