
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विस्तृत् शान्ति–सम्झौतालगायत अन्य कैयौं राजनीतिक सहमतिमा बाँदरमुढेलगायतका द्वन्द्वपीडितको न्यायका सम्बन्धमा चर्चा गरिएको भएपनि न्याय र परिपूरणबिना १३ वर्ष बितेको उल्लेख छ ।
तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सिमानामा पर्ने बाँदरमुडेखोलामा ना१ख ३२४५ नम्बरको बसमा वि.सं. २०६२ जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीनजना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो ।
घटनामा ७२ जना गम्भीर घाइते भएका थिए । ती घाइतेमध्ये चारजनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको संख्या ४२ रहेको छ ।
घाइतेमध्ये १० जना अहिले पनि औषधि सेवन गर्नुपर्ने अवस्थामा छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पूर्णरूपमा उल्लंघन भएका यस्ता घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने कुरामा सरकारको पनि ध्यान पुगेको छैन ।
घटनालगत्तै वि.सं. २०६२ जेठ २३ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख थियो ।
यसैगरी, चुनावीसभाका लागि वि.सं. २०७४ मंसिर १७ गते बाँदरमुढे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच पीडितलाई रोजगारी, जीवनवृत्ति, घाइतेको उपचार खर्च व्यहोर्ने, पीडितको सम्झनामा स्मारक बनाउनेलगायतका सहमति भएको थियो ।
तर, बाँदरमुढे घटना पीडित समितिले अध्यक्ष दाहाल र केही पीडितकाबीच भएको भनिएको सम्झौताप्रति प्रश्न उठाउँदै पीडितको जीउज्यानको सुरक्षा, घटनाको दोषीलाई कारबाही आफ्नो मुख्य माग भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘द्वन्द्वकालीन समयमा भएका यस्ता जघन्य अपराधका घटनामा न्याय निरूपणको कुनै विकल्प छैन । तर, यस्ता सवालमा राजनीतिक नेतृत्वको अडान क्रमशः क्षयीकरण हुँदै गरेको महसुस गरेका छौं । राजनीतिको आडमा घटनाका दोषीले उन्मुक्ति पाइरहनुहुँदैन । रासस
प्रतिक्रिया दिनुहोस्