
बासुदेव बर्मा
कपिलवस्तु, कात्तिक २१ । कपिलवस्तुमा पहिलो पटक सिंचाइ सुविधा नपुगेका किसानलाई लक्षित गरेर डिप ट्युबवेल (बोरिङ्ग) जडान कार्यक्रम शुरु गरिएको छ । आर्थिक बर्ष २०७५/०७६ का लागि कृषि मन्त्रालयद्वारा सञ्चालित कृषि यान्त्रिकरण प्रवर्द्धन परियोजनाअन्तर्गत पहिलो डिप ट्युबवेल जडान कार्यक्रम कपिलबस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवामा मंगलबार उद्घाटन गरिएको हो ।
कुल ७५ लाख लागत रहेको ट्युबवेलको संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल (बलदेव)ले उदघाटन गरे । उनले सिंचाई सुविधाको सहज पहुँचका लागि डिप ट्युबवेल जडान कार्यक्रम शुरुवात गरेको बताए ।
मन्त्री खनालले परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तरमा सोचेअनुरुपको परिवर्तन नआउने बताए । उनले कृषि क्षेत्रमा नयाँ नया प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक र उत्पादनमुखी कृषिमा जोड दिनुपर्ने बताए ।
कृषि यान्त्रिकरण प्रवर्द्धन परियोजनाले ११ वटा डिप ट्युबवेल जडान गर्ने कार्यक्रम शुरुवात गरेको छ । परियोजनाले कपिलवस्तु जिल्लामा सिंचाई सुविधा नपुगेका ठाउँहरुमा ११ वटा डिप ट्युबवेल जडान शुरु गरेको परियोजनाका इन्जिनियर रत्नकुमार पुर्वेले जानकारी दिए ।
कपिलवस्तुमा जडान गरिने डिप ट्युबवेलले २ सय मिटर गहिराईबाट पानी निकालेर सिंचाई सुविधा पुर्याउने लक्ष्य छ । प्रति डिप ट्युबवेल ७५ लाख रुपैयाँको लागत अनुमान रहेको यस योजना अन्तर्गत डिप बोरिङ्ग, पम्प हाउस, विद्युतीकरण, पम्प जडान र भूमिगत कुलो निर्माण गरिने छ ।
जिल्लामा ११ वटा डिप ट्युबवेल जडान र संचालनपछि करिब एक हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुग्नेछ । मुलुकभर परियोजना अन्र्तगत २१ वटा यस्ता किसिमका ट्युबवेल जडान गरिने जनाइएको छ ।
कपिलबस्तुमा ११ वटा, नवलपरासी पुर्वमा ४ वटा, सुनसरीमा ३ वटा, सर्लाही, धनुषा र पश्चिम नवलपरासीमा १/१ वटाका दरले जडान गरिने परियोजनाका इन्जिनियर रत्नकुमार पुर्वेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्