पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको दोधारा–चाँदनी पुल जीर्ण (भिडियो) • Image Khabar Image Khabar


पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको दोधारा–चाँदनी पुल जीर्ण (भिडियो)


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार १०:४०

पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको दोधारा–चाँदनी पुल जीर्ण (भिडियो)

दुर्गा उपाध्याय/
कञ्चनपुर, जेठ २४ । महाकाली नदी पश्चिमतर्फको भूभाग जोड्ने दोधारा चाँदनी झोलुङ्गे पुल समयमा मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । पर्यटकको आकर्षणस्थल तथा स्थानीयवासीको आवतजावतको एकमात्र विकल्पका रुपमा रहेको पुलमा सरोकारवाला निकायको नजर नपुग्दा दिनप्रतिदिन कमजोर बन्दै गएको हो ।

दैनिक ३ हजारभन्दा बढीको संख्यामा आवतजावत् गर्ने कञ्चनपुरको दोधारा–चाँदनी पुल १३ वर्षअघि ९ करोड ३७ लाखको लागतमा निर्माण भएको थियो । एसिया महादेशकै दोस्रो लामो यो झोलुंगे पुलको लम्बाइ १४५२ मिटर छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । पुलको अवस्था दिन प्रतिदिन खस्किँदै गएकोले समयमा राम्रोसँग मर्मतसम्भार नभए निकट भविष्यमा ठूलो दुर्घटना हुने अनुमान सहजै गर्न सकिन्छ ।

पुल मर्मतको लागि वर्षेनी २० लाख बजेट छुट्याए पनि मर्मत नहुँदा पुल जोखिमयुक्त र कमजोर बन्दै गएको हो । पुल ठाउँठाउँबाट चुडिँन लागेको छ । पुलका कैयौं नटबोल्ट खुस्किएका तथा जाली च्यातिएको देखिन्छ ।

पुलमा बिच्छाइएका फलामे पाता, फलामे डोरी र मुख्य रडको अवस्था नाजुक भइसकेको छ ।

महाकाली नगरपालिकाबासिको मेरुदण्डका रुपमा रहेको झोलुङ्गे पुल बेलैमा मर्मत गर्न नसके यसले ठूलो दूर्घटना निम्त्याउने महाकाली नगरपालिका–६ का स्थानीय गणेश थापाको भनाइ छ ।

सडक विभाग अन्तर्गतको झोलुंगे पुल शाखाले यस्ता पुलको मर्मत् सम्भार गर्नुपर्ने प्रावधान छ तर काम सम्पन्न भइसकेपछि स्थानीय निकायमार्फत् भुक्तानी दिने प्रावधान ल्याएमा पुल मर्मतको काम प्रभावकारी हुने बताउँछन् जिल्ला समन्वय समितिका कर्मचारी टेकबहादुर चन्द ।

पुलको मर्मतमा ढिलासुस्ती भएको स्वयं कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का पनि स्वीकार्छन् ।

आवतजावत गर्नेहरुको चाप अत्याधिक भएका कारण पनि पुल जीर्ण बन्दै गएको हो । क्षमताभन्दा बढी मालसामानको ढुवानी गर्दा पुलमाथि थप भार थपिएको छ । पुल बनाउदा ५० किलोभन्दा बढी सामान बोक्न नपाइने स्थानीय सहमति भएको थियो । तर, सरोकारवाला निकायको बेवास्ता र स्थानीय बासिन्दाको हेलचेक्राइले गर्दा पुल वारपार गर्दा जोखिम र त्रास बढ्दै गएको छ ।

पुलको मर्मत् सम्भारमा सरोकारवाला निकायले बेलैमा पहल गर्न जरुरी छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्