
काठमाडौं, जेठ २४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरणको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।
उनले बिहीबार विज्ञप्ति जारी गर्दै एकीकरण हुन लागेको भन्दै केही दिन यता चलेका चर्चा आधारहीन रहेको जनाएका हुन् ।
‘विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ । तर, यसबीच फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिँदैछ ।’
तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उनले प्रष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्