
नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपीओ बिक्रीका लागि स्वीकृति दिएको हो ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।
बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत सेयर बिक्री गर्नेछ ।
आयोजनाकाअनुसार स्थानीयवासीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर पाउनेछन् ।
यस्तै, आयोजनाले आमनेपालीलाई कुल पुँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ ।
सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर प्राप्त गर्नेछन् ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो ।
आयोजनाले यसअघि नै कर्मचारी सञ्चयकोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण सेयर बिक्री गरिसकेको छ । हालसम्म बिक्री भएका साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा भने सूचीकृत हुन सकेको छैन ।
स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण सेयर बिक्री भएपछिमात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको छ ।
आयोजनाले स्थानीयवासीलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको छ ।
गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेशमार्ग तथा प्रसारणलाइनले छोएको प्रभावित तथा कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ ।
स्थानीयवासीले न्यूनतम् ३० देखि अधिकतम् ३०० कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँट गरिसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्