
पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी गठन गरेको कार्यदलले काम गरिरहेको छ ।
पार्टी एकता घोषणा गरेकै दिन तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालयले मापदन्ड तोक्दै तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाउन अन्तरपार्टी निर्देशन दिएको छ ।
सचिवालयले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने कमिटी छरितो बनाउन मापदन्ड तयार गरेको हो ।
तत्कालीन दुवै पार्टीका जनवर्गीय संगठनको एकताका लागि सम्बन्धित पार्टीका इन्चार्ज र अध्यक्ष रहेको २२ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेकपाका नेता देवप्रसाद गुरुङले प्रस्तावित विधानअनुसार संगठनात्मक संरचना निर्माण हुँदै गरेको जानकारी दिए ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विधान र राजनीतिक दस्तावेजलाई अन्तिमरुप दिइरहेका छन् ।
पार्टीको प्रस्तावित विधानमा प्रदेश कमिटी १५०, जिल्ला कमिटी ७५ देखि १२५, महानगर कमिटी ७५ र उपमहानगर कमिटी ६१ सदस्यीय रहने उल्लेख छ ।
यस्तै, अन्तरिम विधानमा नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरु ५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
प्रदेश र जिल्ला संगठनमा अध्यक्ष, सचिव र सदस्यमात्रै रहनेगरी मापदन्ड तोकिएको छ । जिल्ला कमिटी भने न्यूनतम् ७५ सदस्यीय हुने भनिएपनि प्रदेश र जिल्लाअनुसार कमिटीको आकार थपघट हुनेछ ।
प्रदेश र जिल्ला कमिटी सचिवालय भने कमिटीको कुल संख्याको एक तिहाइ हुनेछ ।
कमिटीहरुमा पदाधिकारी र सदस्य छनोट गर्दा तत्कालीन दुवै पार्टीमा रहँदाको वरिष्ठता र क्षमतालाई आधार बनाउने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्