
उद्घाटन खेलमा जावलाखेल युथ क्लबले आयोजक टिम सर्लाही–११ लाई पराजित गर्दै सुखद् सुरुआत गर्यो ।
निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि ‘टाइब्रेकर’बाट खेलको नतिजा निकालिएको थियो ।
पेनाल्टी सुटआउटमा जावलाखेलले सर्लाहीलाई ५–४ ले पराजित गरेको हो ।
जिल्ला फुटबल संघ सर्लाही र लालबन्दी नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको बिहीबारै लालबन्दी नगरपालिका–६ स्थित राधाकृष्ण खेलमैदानमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका थिए ।
असार २ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सर्लाही–११ सहित जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, झापा–११, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गोर्खा ब्वाइज रुपन्देही, कास्की–११ र युनाइटेड सिक्किम क्लब भारतगरी १० टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएका छन् ।
यस्तै, उत्कृष्ट डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र गोलकिपरलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुसलिङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्