
कञ्चनपुर, जेठ २५ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको कामलाई स्थानीय बासिन्दाले रोकेका छन् ।
भीमदत्त नगरपालिका–१२ स्थित सरकारी जग्गामा बसोबास गर्ने स्थानीय बासिन्दाले आफूहरुको जग्गा नक्शांकन गरि मुआब्जा दिनुपर्ने माग गर्दै पुल बनाउन रोकेका हुन् ।
सरकारले जग्गाधनी प्रमाण पुर्जा नभएका परिवारलाई समेत उचित मुआब्जा दिने बताए पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै स्थानीयले विरोधस्वरुप पुल निर्माणको काम रोकेका हुन् । उनीहरुले चार महिनाभित्र जग्गा नक्शांकन गरि मुआब्जा दिने आश्वासन पाए पनि अहिलेसम्म वास्ता नगरिएको भन्दै विरोध जनाएका छन् ।
लालपुर्जा भएका जग्गाधनीलाई मुआब्जा दिएपछि सरकारी जग्गामा बसोबास गर्ने परिवारले पनि आफूहरुको जग्गा नक्शांकन गरि मुआब्जा दिनुपर्ने मागसहित पुल निर्माण रोकेको महाकाली पुल योजनाका इन्जिनियर सुलभ न्यौपानेले बताए ।
गड्डाचौकीदेखि निर्माणाधीन चार लेनको पक्की पुलसम्म ६ किलोमिटर सडक विस्तार गर्दा झण्डै २५ हेक्टर जमिन अधिग्रहण गर्नुपर्ने देखिन्छ । जसमध्ये १७ हेक्टर जमिनको जग्गाधनी प्रमाण पुर्जा छ भने बाँकी ८ हेक्टर नहर र सरकारी जमिन पर्दछ ।
प्रतिक्रिया दिनुहोस्