१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


पर्यटकलाई लोभ्याउँदै आएका परम्परागत घुमाउने घरहरु लोप हुँदै


0
Shares

लमजुङ, जेठ २५ । लमजुङका ग्रामीण भेगमा भेटिने परम्परागत घुमाउने घरहरु पछिल्लो समय लोप हुँदै गएका छन् ।

आधुनिक संरचनाको नमूना भित्रिएसँगै परम्परागत घुमाउने घरहरु लोप हुन थालेका हुन् । आधुनिक संरचनाको विकाससँगै शहरी क्षेत्रमा परम्परागत शैलीका घर तथा भवनहरु देख्न पाईदैन ।

पछिल्लो समय ग्रामीण भेगमा पनि परम्परागत शैलीमा निर्माण भएका संरचना भेटाउन मुस्किल हुन थालेको छ । घलेगाउँ, सिउँरुङ, राईनासलगायतका पर्यटकीय गाउँमा घुमाउने घरलाई संरक्षण गरिएको छ ।

गाउँमा आउने विदेशी तथा स्वदेशी पर्यटक घुमाउने घरमा निकै रमाउने गरेको स्थानीय बताउँछन् । परम्परागत घुमाउने घरहरु पर्यटकको रोजाई भएकाले पनि पर्यटकीय गाउँमा यसको उचित संरक्षण आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

एकदशक अघिसम्म सयौँको संख्यामा रहेका घुमाउने घर अहिले औँलामा गन्न सकिने भएका छन् ।