
‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ ।
कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत् उत्पादन गर्छन् ।
सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।
कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमामात्रै सन्चालन गरिएको छ ।
कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निस्किएको पानीबाट दोस्रो विद्युत्गृह सन्चालन हुन्छ ।
कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४ सै घन्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमामात्रै सन्चालन गरिन्छ ।
कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईओटा र दोस्रोमा १६/१६ मेगावाटका दुईओटा टर्बाइन छन् । अहिले दुवै विद्युत्गृहका एउटा/एउटामात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।
बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ ।
यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भइ विद्युत्भार कटौती गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुलेखानी विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।
केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता जापानको फुजी इलेक्ट्रिक कम्पनीका प्राविधिक आगामी सोमबार यहाँ आइपुग्ने जानकारी दिए ।
जापानी प्राविधिक आएपछिमात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने प्रमुख ओझाले बताए ।
‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुनसक्ने देखिएको छ । तर, कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछिमात्रै भन्न सकिन्छ’–उनले भने–‘मर्मत छिटो सक्ने प्रयास गरिरहेका छौं ।’ रासस
प्रतिक्रिया दिनुहोस्