
काठमाडौं, जेठ २७ । सरकारले अब नेपाल प्रहरीमा तीन जना मात्र अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) राख्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौती गर्दै तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।
गृह मन्त्रालयले भने पाँच एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने भन्दै सरकारले तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।
कुनै समय प्राविधिकसहित १६ जना एआईजीसम्म राखिएको थियो । सुशील कोइराला नेतृत्वको सरकारमा भागवण्डा मिलाउनकै लागि एआईजीमा ९ जनालाई बढुवा गरिएको थियो ।
तर बढुवामा नपरेका अरु चार जनाले मुद्दा हालेपछि सर्वोच्चले उनीहरुलाई पनि बढुवा गर्न आदेश दिएपछि १३ जना पुगेका थिए ।
अहिले भने प्राविधिकतर्फका एक जनाबाहेक अरुले अवकाश पाइसकेका छन् । मन्त्रिपरिषद्ले दरबन्दी तोकेसँगै बढुवाको बाटो पनि खुलेको छ ।
सशस्त्र प्रहरीमा भने दुई जना मात्र एआईजी राख्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी कटौती गरेको हो ।
अब त्यहाँ दुई जना मात्र एआईजी हुनेछ । गृह मन्त्रालयले भने तीन एआईजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा ८ जना एआईजी छन् ।
प्रतिक्रिया दिनुहोस्