
मुस्ताङ, जेठ २७ । मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लामो समयदेखि ढिलाई गरिँदै आएको पुलको काम बल्ल ९० प्रतिशत सकिएको छ भने बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ ।
मुस्ताङको उत्तरी नाका कोराला, धार्मिकस्थल मुक्तिनाथ र कागवेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । २०६९ सालमा साढे ३ वर्षभित्रमा सिध्याउने भन्दै पुल निर्माणको काम शंकरमाली जेभीले जिम्मा लियो । काममा ज्यादै ढिलासुस्ती भएको कारण समयमा काम सम्पन्न नभएपछि समयसीमा बढाइएको थियो ।
काम सुरु भएको करिब ६ वर्ष बित्न लाग्दा पुलले साकार रुप लिने देखिएको छ । लम्बाई ५० मिटर र चौडाई ७ मिटर रहेको लुप्रा पान्डाखोला पुलको ४ करोड ७ लाख लागतमा सुरु गरिएको हो ।
लामो समय बितिसक्दा समेत पुलको काम पुरा नभएपछि कालीगण्डकी करिडोर र जिल्ला प्राविधिक कार्यालयले ८ वटा निर्माण कम्पनीको नाम जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक गरेको छ ।
सम्झौता अवधि सकिन लागेकाले निर्माण कम्पनी र ठेकेदारलाई समयमै काम सम्पन्न गर्न अनुरोध गरेको र अटेर गर्ने कम्पनी र ठेकेदारलाई कानुन बमोजिम कारवाही गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको चेतावनी छ ।
लामो समयदेखि निर्माण कार्य सुरु गरिएको पुल भारतीय नाकाबन्दी, भूकम्प र विभिन्न निर्वाचनका कारण निर्माणमा ढिलाई भएको पुलका ठेकेदार गणेश कार्कीको दाबी छ ।
यस्ता महत्वपूर्ण आयोजना समय सीमाभन्दा दोब्बर समयमा पनि सम्पन्न नहुनु आफैँमा लज्जास्पद छ । यदि गम्भीरतापूर्वक काम गर्ने हो भने समयमै काम पुरा हुनेमा कुनै शंका छैन ।
वर्षायाममा पुल नहुँदा मुस्ताङका स्थानीय र पर्यटकले ठूलो सास्ती बेहोर्दै आएका छन् । यसमा जिम्मेवार निकाय बढी चनाखो हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्