
बझाङ, जेठ २७ । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आइतबार बझाङको सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर र सिटी बजाएर प्रदर्शन गरेको छ ।
गत सातादेखि चरणबद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारा जुलुससहित अर्धनग्न जुलुस निकालेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको मूल्यमा समेत असर पारेका कारण आन्दोलन गर्नु परेको नेविसंघका स्थानीय नेता खगेन्द्र खड्काले बताए ।
मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए । उनका अनुसार चरणवद्ध आन्दोलन कार्यक्रम जारी रहने छ । जेठ २९ गते मसाल जुलुस र ३१ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
चैनपुरको तास घरबाट शुरु भएको विरोध र्याली बजार परिक्रम गरि कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, उखान टुक्का बन्द गर, लम्पसारवाद मुर्दावादलगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्