२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौंमा चीन र भारतका रेल ल्याउन के छ तयारी, कसरी छ सम्भव ! (भिडियो)


0
Shares

काठमाडौं, जेठ २७ । नेपालमा अहिले रेल मार्ग निर्माणको विषय निकै जोडतोडले उठिरहेको छ ।

नेपालको उत्तर र दक्षिणका दुबै छिमेकी मुलुक काठमाडौंसम्म रेल जोड्न सहमत पनि भएका छन् । अत्यन्तै खर्चिलो मानिने रेल परियोजनाका लागि कसले सहयोग गर्छ भन्ने चित्र प्रष्ट नभए पनि योजना भने धमाधम कोरिँदैछ ।

रेलमार्ग सडकभन्दा दोस्रो सस्तो यातायात हो । नेपालजस्तो विकासोन्मुख देशका लागि त यो एउटा सपना पनि हो । यही सपनामा राजनीतिले बाजी नै मारिसकेको छ ।

भूपरिवेष्ठित देश नेपाल पछाडि पर्नुमा सस्तो र छिटो यातायातका विकल्पहरु नहुन पनि हो भन्ने गरिन्छ । त्यसैले त पछिल्ला वर्षहरुमा नेतादेखि जनतासम्मको जिब्रोमा झुण्डिएको छ– रेल ।

नेपालले काठमाडौंलाई गन्तव्य मानेर भारतसँग रक्सौल–काठमाडौं तथा चीनसँग केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि आग्रह गरिरहेको छ । यसैक्रममा असार ५ मा चीन भ्रमणमा जाँदा प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि चीनसँग सहयोग माग्ने बताइएको छ ।

त्यसैले उक्त रेलमार्गका लागि अहिले चीन सरकारको परामर्शदाताको एक टोली नेपालमै बसेर अध्ययन गरिरहेको छ ।

संसारकै सबैभन्दा जटिल रेलमार्ग भएकाले पनि निर्माणमा नेपालले चीनको सहयोग अपेक्षा गर्नु स्वाभाविक हो । केरुङ–रसुवागढी हुँदै काठमाडौं जोड्ने रेलमार्गका लागि १ किलोमिटरको लागत नै ७/८ अरब लाग्नसक्ने बताइएको छ ।
करिब सय किलोमिटर रहने यस मार्गमा ९५ प्रतिशत त सुरुङ नै प्रयोग गर्नुपर्ने भएकाले चुनौतीपूर्ण रहेको रेल विभागका इन्जिनियर किरण कार्की बताउँछन् ।

उत्तरतिर रेलमार्ग छेडियो भने चीनसँग व्यापारका साथै आर्थिक विकासका ढोकाहरु खुल्ने छ । तर विश्वकै कठिन रेलमार्ग मध्येमा पर्ने तथा थुप्रै पुल र सुरुङले हिमाल–पहाड तर्ने र खोतल्न चाहिने करिब ८ अर्ब डलर खर्चेर नेपालले बनाउन सक्नेभन्दा पनि मित्रराष्ट्र चीनले सदभावपूर्वक निर्माण गरिदिए दुई देशबीचको दौत्य सम्बन्ध कसिलो बन्ने र नेपालको आर्थिक सम्वृद्धिको ढोका पनि खुल्नेछ ।

त्यतिमात्र नभई दुई छिमेकीले काठमाडौंसम्म रेल सञ्जालले जोडेमा नेपालको उत्पादनले चीनको अतिरिक्त यूरोपसम्मको सहज यात्रा गर्नेछ । अहिले एशिया र युरोपमा तीब्र गतिमा रेलमार्गको काम भईरहेको, एशियामा एसियाली रेल नेटवर्कको खाका बन्दै गरेको तथा नेपालको पूर्व पश्चिम रेल मार्ग पनि यही सञ्जालको एक अंशको रुपमा रहेकाले पनि यसप्रति विश्वको ध्यान भने खिचिएकै छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्