१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


असई थापाको मृत्यु ‘रहस्यमय’, हत्या भएको भन्दै छानबिनको माग


0
Shares

प्रहरी पहरा गणबाट काठमाडौंको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत् थापाले आइतबार डियुटीमै आफैंलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगेपछि परिवारले आत्माहत्या नभइ हत्या भएको आशंका गर्दैै छानबिनको माग गरेका छन् ।

दूतावासस्थित ब्यारेकमा असइ अनुपराज थापाले आफैंलाई निधारमा गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

मृतक थापाका पिता ज्ञानेन्द्र थापाले कुनै तनाव, समस्या र घटनाको कारण नै नभएको अवस्थामा छोराको आत्महत्या गर्‍यो भन्नु अविश्वसनीय भएको बताए ।

उनले भने–‘छोराले आत्महत्या गरेको भन्दै शिक्षण अस्पतालमा आउन प्रहरीले खबर गरे, छोराले आत्महत्या गर्नुको कुनै कारण छैन । घटनापछि परिवारलाई जानकारी नै नदिइ सीधै किन परीक्षणका लागि अस्पताल ल्याइयो ? यो आत्महत्या नभइ हत्या हो, निष्पक्ष छानबिन हुनुपर्छ ।’

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।

उनले भने–‘यो आत्महत्या नै हो भन्ने कुनै आधार देखिँदैन, हत्या गरिएको पनि हुनसक्छ । तत्काल छानबिन समिति बनाइ सत्यतथ्य बाहिर ल्याउनुपर्छ । रासस