
बाढी, पहिरो, डुबान, आगोलागी, खडेरीजस्ता विपद् नै नेपालीको मृत्युको कारक हो ।
यस्ता विपद्का कारण वर्षेनि एक हजारभन्दा बढी परिवार विस्थापित हुने र १६ हजारभन्दा बढी परिवार पूर्णरुपले प्रभावित हुने गरेका छन् ।
प्राकृतिक विपद्मा परेर गएको वर्ष अर्थात् २०७४ सालको वैशाखदेखि चैत ३० सम्ममा ५९७ जनाले ज्यान गुमाए ।
मृत्यु हुनेमा पुरुष ३५७ तथा महिला २४० जना रहेको गृह मन्त्रालयअन्तर्गत्को विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । यस्तै, ८३७ घाइते हुँदा ६० जना मानिस बेपत्ता भएको तथ्यांक छ ।
यसले पनि वर्षेनि कसरी जनधनको क्षति भइरहेको छ भन्ने प्रस्ट हुन्छ । यस वर्ष पनि वर्षात्को समय सुरु भइसकेको छ । झन् प्रिमनसुनदेखि नै लगातारजसो पानी परेकाले कतिपय ठाउँमा पहिरो जान थालेको छ । पानीकै कारण दुर्घटना भएका खबर आउन थालेका छन् ।
विपद्मध्येमा पनि सबैभन्दा बढी बाढी, चट्याङ, आगोलागी, पहिरो, शीतलहरजस्ता कारणबाट मानवीय र आर्थिक क्षति हुने गरेको तथ्यांक छ ।
विपद् व्यवस्थापन गर्नका लागि जरुरी पर्ने बजेट पनि पर्याप्त रहेको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
यसले नागरिकको सुरक्षित जीवन बाँच्न पाउने तथा सहजरुपमा जीवन निर्वाह गर्न पाउने मानवीय अधिकार नै संकटमा परेको छ ।
विपद्मा परेर घरबास नै गुमाउने र विस्थापित बन्नेहरुलाई पुनःस्थापना गर्ने स्थान पनि त्यस्तै जोखिमयुक्त हुने गर्छ । जसले उनीहरुको जीवन सधैं जोखिममा पर्ने गरेको हो ।
प्रत्येक वर्ष तराई क्षेत्र बाढी र डुबानमा पर्नु तथा पहाडी क्षेत्र पहिरोमा पिसिनु र सयौंले अनाहकमा ज्यान गुमाउनु नियतिझैं बनिरहेको छ ।
हजारौंले घरबार गुमाउँदै विस्थापित हुन बाध्यमात्र छैनन्, उद्धार र राहतमा पनि दयाको भीख माग्नुपर्नेजस्ता अवस्था व्यहोरिरहेका छन् ।
वर्षात् सुरु हुनेबित्तिकै प्रभावित क्षेत्रका बासिन्दामा त्रास सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्