२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा (भिडियो)


0
Shares

सागर महर्जन र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, असार ४ । भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

गत वैशाखमै निर्माण सम्पन्न गर्ने योजना रहेकोमा ‘लकडाउन’का कारण निर्माण अवधि लम्बिएको हो ।

२५ करोड रुपैयाँको लगानीमा पुनःनिर्माण भइरहेको रानीपोखरीको सतहलगायत पुनःनिर्माणको काम सकिएको छ भने अबको तीन महिनाभित्र पुनःनिर्माणको सम्पूर्ण काम सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निर्माणविज्ञ राजुमान मानन्धरले बताएका छन् ।

१८० मिटर लम्बाइ र १४० मिटर चौडाइको यो पोखरीले ६२ रोपनी क्षेत्रफल ओगटेको छ ।

रानीपोखरी पुनःनिर्माणमा मौलिक सामग्री जस्तै, कालीमाटी र प्रताप मल्लकै पालाको स्वरुपका इँटाहरु प्रयोग गरिएको छ भने मन्दिर पनि प्रताप मल्लले बनाएकै ग्रन्थकुट शैलीमा पुनःनिर्माण गरिएको मानन्धरले बताए ।

पोखरीमा तीन करोड लिटर पानी राख्ने योजना प्राधिकरणको रहेको छ । जसअनुसार पहिले आकाशेपानी संकलन गर्ने, दोस्रोमा मेलम्चीको पानी काठमाडौं आइपुगेपछि डेडिकेटेड लाइन राख्ने, तेस्रोमा टुँडिखेलभित्र रहेको इनारबाट पानी राख्ने, अन्तिममा त्रिचन्द्र कलेजनजिक रहेको बोरिङबाट पानी राखिने छ ।

राजा जयप्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युले शोकाकुल बनेकी रानीको चित्त बुझाउन वि.सं. १७२७ मा उक्त पोखरी निर्माण गरेका थिए ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण ढिलै भएपनि सम्पन्न हुन लाग्नु सुखद् विषय हो ।

भिडियो हेर्नुहोस्