Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पीपीएलको ट्रफी सराङकोटमा सार्वजनिक


0
Shares

पोखरा, कात्तिक १९ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टनले चितवन राइनोजसँग खेल्दैछ ।

फाइनल खेलको पूर्वसन्ध्यामा दुई टोलीका कप्तानहरुले सोमबार पीपीएलको ट्रफी सार्वजनिक गरेका छन् ।

पर्यटकीय नगरी पोखराको सराङकोट डाँडामा पोखराका कप्तान शरद भेषावकर र चितवनका कप्तान पारस खड्काले संयुक्तरुपला विजेताले पाउने ट्रफी सार्वजनिक गरेका हुन् ।

घरेलु प्रतियोगिताहरुका यी दुई परिचित कप्तानहरुले माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर ट्रफी सार्वजनिक गरे ।

पीपीएल क्रिकेटले पोखरालाई क्रिकेटको नयाँ गन्तव्यकारुपमा परिचित गराउँदा यहाँको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन सराङकोट डाँडामा ट्रफी सार्वजनिक गरिएको जनाइएको छ ।

विजेतालाई २७ लाख

पीपीएलको फाइनल खेल मंगलबार पोखरा रंगशालामा हुनेछ ।

खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमा सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

लिग चरणमा पाँचमध्ये तीन खेल जितेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सीधै फाइनलमा ठाउँ बनाएको हो ।

चितवनले लिग चरणमा तीन खेल जितेपनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्लेअफमा काठमाडौंलाई हराएको थियो ।

यसअघि, धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल) को फाइनलमा भिडिसकेका पारस र शरदको टोली पीपीएलमा पनि सुरुआती संस्करणकै उपाधिका लागि भिड्न लागेका हुन् ।