
मुस्ताङ, कात्तिक १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत् शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताए । उनले यो अभियानमा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए ।
प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताए ।
सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वाससमेत उनले व्यक्त गरे ।
आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी राम्रोमात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन ।’
समाजमा हुने खराब क्रियाकलाप, गुण्डागर्दी लगायतका गलत कामका विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत भई कार्य गर्ने उनले प्रष्ट पारे ।
४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्याम्हो गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमिला खनाल, स्थानीय तहका पदाधिकारीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु, सामुदायीक केन्द्रका पदाधिकारी, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्