३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


हतारमा साम्यवाद ल्याउन खोजे समाजवाद पनि ढल्नसक्छ : नेता नेपाल


0
Shares

चितवन, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले साम्यवादमा पुग्न हतार गर्न नहुने बताएका छन् ।

सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले चितवनको नारायणगढमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपालले हतारमा हामफालेर साम्यवाद ल्याउन खोजे अहिले भएको समाजवाद पनि ढल्नसक्ने खतरा रहेको औंल्याए ।

नेपालमा जनताको मन जित्नका लागि कम्युनिस्टहरुले अहिले ठूलो अवसर पाएको भन्दै उनले अवसरको सही सदुपयोग गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले दोस्रो विश्वयुद्धपछि फ्रान्स र सन् १९८६ मा फिलिपिन्सका कम्युनिस्टहरुले पाएको अवसरको सदुपयोग गर्न नसक्दा कम्युनिस्टहरु पछाडि परेको उदाहरण दिँदै नेपालमा कम्युनिस्टहरुले पाएको अवसर खेर जान दिन नहुने धारणा राखे ।

नेपालमा कम्युनिस्टहरुले पाएको अवसरलाई खेर जान नदिन कुन ढंगको नीति लिएर अगाडि बढ्ने भन्ने विषयमा गहन छलफल र बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै, पूर्वअर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालमा कुन खालको समाजवाद लागू गर्ने भन्ने विषय प्रस्ट नभएको बताए ।

समाजवादमा पनि कुन नीति लिएर अगाडि बढ्ने भन्ने विषय गम्भीर हुने भन्दै उनले समाजवादको नीति प्रस्ट हुनुपर्ने विचार व्यक्त गरे ।

यसअघि समाजवादको बाटोमा अगाडि बढेका सोभियत संघलगायतका मुलुकहरुले कुन नीति लिने विषयमा स्पस्ट नभएकै कारण असफल बनेको उदाहरण दिँदै नेता पाण्डेले नेपालमा लागू हुने समाजवादको खाका प्रस्ट हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेललगायतका नेताहरुले पुष्पलालको योगदानका विषयमा बोलेका थिए ।