Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


चाडपर्वका लागि भारतीय बजारकै भर ! (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १९ । झापा, मोरङसहित पूर्वी जिल्लाका उपभोक्ता तिहारका लागि चाहिने आवश्यक सामग्री खरिद गर्न भारतीय बजार पुग्ने गरेका छन् ।

नेपाली बजारको तुलनामा सस्तोमा सामान पाउने भएपछि उपभोक्ताहरु भारतीय बजारमा सामान खरिद गर्न पुग्दा नेपालका व्यापारी भने मर्कामा परेका छन् ।

सबैको घरआँगनमा तिहारको रौनक सुरु भएको छ । बजारमा तिहारका लागि चाहिने सामान किन्नेहरुको चहलपहल र तँछाड–मछाड् सुरु भएको छ । तर सीमा क्षेत्रका अधिकांश नेपाली बजारमा उपभोक्ताको तुलनात्मक रुपमा कम चहलपहल देखिन्छ । सीमा क्षेत्रका भारतीय बजारमा चिनी, दाल, जिरा, चना, मटर, खानेतेल लत्ताकपडालगायतका सामग्री सस्तोमा पाइने हुँदा उतैबाट खरिद गरिरहको पानीट्यांकी बजारमा पुगेका नेपाली उपभोक्ता बताउँछन् ।

हरेक सामान नेपालमा भन्दा सस्तो पाइने भएकोले थोरै भए पनि बचत हुने विराटनगरबाट नजिक रहेको भारती सीमावर्ती बजार जोगबनी पुगेका नेपाली उपभोक्ताको भनाइ छ ।

पूर्वी नाका काँकडभिट्टा हुँदै मोरङको उर्लाबारी, दमक, झिलझिले, दुधे, शनिश्चरे, बिर्तामोडसहित पहाडी जिल्लादेखिका उपभोक्ता दिनदिनै पानीट्यांकी बजार पुग्ने गरेका छन् । यहाँ गुणस्तरीय र सस्तो सामान पाइने भएकोले नेपाली ग्राहक बढी आउने गरेको पानीट्यांकीका व्यपारीहरु बताउँछन् ।

अरू समयको तुलनामा पानीट्यांकी, जोगबनीलगातका भारतीय बजारमा अचेल नेपालीहरुको घुइँचो नै देखिन्छ । हरेक दिन गाडी, रिक्सा, मोटरसाइकल, निजी गाडीमा भारतीय बजारमा सामान किन्न जानेहरुको ओइरो नै लागेको छ । विशेषगरी चाडवाडको समयमा उपभोक्ताहरु भारततर्फ मात्र आकर्षित हुँदा नेपाली व्यापारीहरु भने निराश छन् ।

यसो हेर्दा उपभोक्ताले सस्तो मूल्यमा सामान पाए पनि समग्र देशको अर्थतन्त्रलाई भने यसले नकारात्मक असर पारेको छ । यसमा सरकार र व्यापारीहरुले मनन् गर्नुपर्छ ।

(विराटनगरबाट ध्रुव भट्टराईका साथ रवीन भट्टराई, झापा)  

भिडियो हेर्नुहोस्