Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


चीनबाट आयातित प्लास्टिकका बत्तीले माटोका पाला बनाउने व्यवसाय नै संकटमा (भिडियो)


0
Shares

लक्ष्मी लामा/राममान डंगोल (इमेज)

काठमाडौं, कात्तिक १८ । तिहार भन्नेबित्तिकै सबैको मनमा झिलिमिली बत्तीको तस्वीर आउने गर्दछ । तिहारमा हरेक घर झिलिमिली बत्तीले सजिएका हुन्छन् ।

घर झिलिमिली बनाउन बजारमा अनेकखालका बत्ती उपलब्ध छन् ।

भारत तथा चीनबाट आयातित प्लास्टिकका बत्तीहरुले माटोका पालाहरु भने विस्थापित हुने अवस्थामा पुगेका छन् ।

तिहारमा धनधान्यकी देवी लक्ष्मीलाई खुसी बनाउन यत्रतत्र सर्वत्र झिलीमिली बनाउने चलन रहेको छ ।

पहिले–पहिले परम्परागतरुपमा माटोबाट बनेका पालामा तेलको बत्ती बाल्ने चलन थियो ।

तर, केही समययता बिजुलीको पहुँच पुगेको ठाउँमा प्लास्टिकका बत्तीको प्रयोग व्यापक बनेको पाइन्छ ।

आफ्नो इच्छा, चाहनाअनुसारको रङ, साइज र मूल्यमा छानीछानी किन्न पाउने भएकाले पनि माटोका पालालाई प्लास्टिकका बत्तीहरुले प्रतिस्थापित गरिरहेको हो ।

माटोकाजस्तै देखिने प्लास्टिकका पाला चीनबाट सस्तो मूल्यमा आइरहेका छन् । जसका कारण सक्कली पालाको प्रयोग हराउँदै जान थालेको छ ।

उपत्यकामा भक्तपुरको ठिमीमा माटोका पाला बनाउने गरिन्छ । कम गुणस्तरको माटोका कारण पालालगायत माटोका भाँडाको व्यापार खस्केकामा अहिले पुनः व्यापार बढेको व्यवसायीहरु बताउँछन् ।

माटोका पाला बनाउन सबैभन्दा ठूलो समस्या भनेको माटोको अभाव नै हो । माटोको भाँडा बनाउनका लागि चिम्ट्याइलो माटो आवश्यक पर्ने र त्यस्तो माटो स्थानीयस्तरमा पाइन छाडेको उनीहरु बताउँछन् ।

त्यसो त चीनबाट प्लास्टिकका पाला र बत्तीमात्रै नेपाली बजारमा आएका छैनन्, भारतबाट माटोकै पाला पनि आइरहेको पाइन्छ । जसका कारण नेपाली कुमालेहरुलेसमेत आप्mनो पेसाबाट विस्थापित हुनुपर्ने खतरा बढेको छ ।

भिडियो हेर्नुहोस्