Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


काठमाडौंलाई हराउँदै चितवन पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा


0
Shares

काठमाडौं, कात्तिक १८ । हुलास काठमाडौं रोयल्सलाई हराउँदै चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई पारस खड्का नेतृत्वको चितवनले ६ विकेटले पराजित गर्‍यो ।

खेलमा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनका लागि स्मित पटेलले ३८ रन जोड्दा हरिशंकर साहले २६ रनको योगदान दिए ।

प्रतियोगितामा सुरुआती दुई खेल हारेको चितवनको यो लगातार चौथो जित हो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ९४ रनमात्रै जोडेको थियो ।

जारी पीपीएल क्रिकेटमा कुनैपनि टोलीले पहिलो इनिङसमा बनाएको यो सर्वाधिक न्यून रनको योगफल हो ।

काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले ३० रन जोड्दा जयकृसन कोलसवालले २५ रनको योगदान दिए ।

काठमाडौंलाई सस्तैमा समेट्नेक्रममा चितवनका सन्नी पटेलले ३ विकेट लिँदा स्मिथ पटेल र भुवन कार्कीले समान २/२ विकेट झारे ।

जितसँगै चितवनले पीपीएल क्रिकेटमा शरद भेषावकरको कप्तानीमा रहेको स्थानीय टोली पोखरा पल्टनसँग फाइनल खेल तय गरेको छ ।

उपाधि भिडन्त आगामी मंगलबार हुनेछ ।