
दीपक श्रेष्ठ/राममान डंगोल/कुमार कटुवाल (इमेज)
काठमाडौं, असार ११ । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष छानबिन समितिले काठमाडौंमा सन्चालित रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का चारओटा शाखामा सिलबन्दी गरेपछि कर्मचारी संकटमा परेका छन् ।
रेस्टुरेन्टका सन्चालक चेतन भण्डारी सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा समितिले छापा मारेर सिलबन्दी गरिदिएपछि कर्मचारीहरु ‘घर न घाट’को अवस्थामा पुगेका हुन् ।
साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंका गरिएका ‘बाजेको सेकुवा’ रेस्टुरेन्टका सन्चालक चेतन भण्डारी फरार छन् ।
सुन तस्करी छानबिन समितिले भण्डारीलाई खोज्नेक्रममा उनले सन्चालन गरेका रेस्टुरेन्टका चारओटा शाखामा गत जेठ ३० गते छापा मारेर सिलबन्दी गरिदिएको छ । ती रेस्टुरेन्टका चारओटा शाखामा करिब ३०० कर्मचारी कार्यरत् छन् ।
रेस्टुरेन्टमा सिलबन्दी गरिएपछि कर्मचारीहरु ‘घर न घाट’को भएका छन् ।
सन्चालक फरार भएपछि पनि कर्मचारीहरुले नै रेस्टुरेन्ट सन्चालन गर्दै आएका थिए । तर, अहिले समितिले एक्कासि रेस्टुरेन्टमै सिलबन्दी गरिदिएपछि आफूहरुले अन्यत्र काम खोज्ने मौकासमेत नपाएको पीडित कर्मचारीको गुनासो छ ।
कर्मचारीहरु दैनिक भेला भएर रेस्टुरेन्ट सन्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरुले सन्चालकमाथिको छानबिनका नाममा व्यवसाय नै बन्द गराएर आफूहरुको रोजगारी सरकारले खोसेको दुःखेसो गरेका छन् ।
एकजना व्यक्तिको नाममा गरिने छानबिनकाक्रममा झन्डै ३०० कर्मचारीको रोजगारीमाथि नै संकट निम्त्याउनु कहाँसम्मको न्यायोचित हो ? भन्ने प्रश्नसमेत उनीहरुले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्