
बासुदेव बर्मा
कपिलवस्तु, कात्तिक १८ । मौसमी फलका रुपमा रहेको सिंगाडा खेतीबाट कपिलबस्तु नगरपालिकाका कहार समुदायले माछापालनका लागि ठेक्का लिएको तालमा सिंगाडा उत्पादन गरी राम्रो मनग्य आम्दानी गर्दै आएका छन् ।
अहिले बजारमा सिंगाडाका माग अधिक छ । त्यसैले पोखरीमा फलेको मौसमी फल सिंगाडा टिपेर बिक्री गर्न उनीहरुलाई भ्याई नभ्याई छ ।
टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा हिडेका कमलेश कहार सिंगाडा टिपेर दिउँसो फर्कन्छन् । कपिलवस्तु नगरपालिका–१ कहार टोल बस्ने ४५ वर्षीय कमलेश कहारले सिंगाडा बिक्रीबाट आफुले राम्रो आम्दानी लिने गरेको बताए ।
उनी आफूसहित अन्य दुईजनालाई ज्याला दिई सिंगाडा टिप्न लग्ने गरेका छन् ।
कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेका तीनवटा ताल तलैया ठेक्कामा लिई रोपिएको सिंगाडा टिपेर उनी राम्रो आय आर्जन गरिरहेका छन् ।
‘अनेक दुःख कष्ट सहेर युवाहरु कमाउन भनेर विदेशिन्छन् तर म सानो लगानीले घरमै बसेर खान, लाउन र धेरथोर बचत गरिरहेको छु,’ उनले भने । सिजनमा सिंगाडा बेचेर ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनको भनाइ छ ।
‘गत बर्ष ७० हजार रुपैयाँ आम्दानी भयो, अहिले एक लाखको कारोबार गर्ने योजनामा छु,’ उनले भने, ‘ठुलो आम्दानी गर्न नसके पनि ९ जनाको परिवार पाल्न अरु काम गर्नु पर्दैन, कसैसँग ऋण पनि लिनु परेको छैन ।’
कपिलवस्तु नगरपालिका– ८ दलदलहामा रहेका पोखरी ठेक्कामा लिई माछापालन र सिंगाडा खेती हुँदै आएको छ । तालमा सजिलै बीउ छरेर खेती गर्न सकिने भएका कारण पनि कहारहरुले आफ्नो पुर्ख्यौली पेशा जोगाईरहेका छन् ।
अहिले यहाँ कमलेशजस्तैै कपिलवस्तु नगरपालिका–१ र २ कहार टोलका करिब ४० घर परिवारले सिंगाडा खेती गरेरै जीविकोपार्जन गरिरहेका छन् ।
जेठ असारमा लगाएको सिंगाडा असोजमा तयार भई कात्तिक–मंसिरसम्म बिक्री गर्न सकिन्छ । असोज, कार्तिकमा पर्ने दशैं, तिहार र हरिबोधनी एकादशीमा सिंगाडा बढी बिक्री हुने गर्दछ ।
सिंगाडा प्रायः सबैले खान्छन् । तर यो विशेष गरी ब्रतालुले खाने फल हो । बिरामीकालागि पनि यसले उत्तिकै फाईदा गर्दछ ।
सिंगाडाको भित्रको दानालाई उमालेर, सुकाएर पिँधेर पिठो बनाई रोटी पनि खाने चलन छ ।
यो फल ३० देखि ४० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गर्दछ ।
मौसमी फल सिंगाडा खेतीका विषयमा भने कृषि कार्यालयसँग आधिकारिक कुनै तथ्यांक छैन । जिल्लाका काहार समुदायका मानिसहरुले पोखरीमा सिंगाडा उत्पादन गरी राम्रो आम्दानी लिने गरेको कृषि कार्यालयका प्रमुख राकेश ओझाले बताए ।
प्रतिक्रिया दिनुहोस्