दीपक घिमिरे
भैरहवा, कात्तिक १८ । नेपाली उपभोक्ताको भीड हुने सीमावर्ती भारतीय बजार अचेल सुनसानजस्तै भएका छन् । नेपालको तुलनामा सस्तो सामान पाइने भन्दै सीमावर्ती भारतीय बजारमा पुग्ने गरेका नेपालीको संख्या पछिल्लो समय घटेको छ ।
सीमावर्ती भारतीय बजार सुनौली सुनसानजस्तै हुन थालेको छ । सरकारले चिनी ल्याउन रोक लगाएपछि सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको चाप कम हुँदै गएको हो । जसका कारण सुनौलीका व्यापारी उदास देखिएका छन् भने नेपालतर्फका व्यापारी भने उत्साहित देखिन्छन् ।
विगतका वर्षहरुमा दशैँ तिहारको समयमा विशेष चहलपहल देखिने सीमावर्ती भारतको सुनौली बजार सुनसानजस्तै देखिन्छ । अरु समय पनि प्रायःजसो नेपाली उपभोक्ताहरुको खचाखच देखिने बजारमा अहिले भने चहलपहल घटेको छ । जसका कारण सुनौलीका व्यापारीहरु निराश देखिन्छन् । पहिलेको भन्दा अहिले सुनौलीको व्यापारमा ५० प्रतिशत बढी गिरावट आएको उनीहरुको गुनासो छ ।
नेपाल सरकारले सुनौलीबाट चिनी लैजान नदिएपछि नेपाली उपभोक्ता स्वात्तै घटेको व्यापारीहरुको भनाइ छ ।
सुनौलीमा नेपालीहरु चिनी, चियापत्ती, मरमसलादेखि भान्साका अन्य सामानसहित लत्ताकपडा खरिदका लागि जाने गर्दछन् । चिनीमै प्रतिबन्ध लगाएपछि उनीहरु अरु सामान किन्न पनि जान छाडेका छन् । चहलपहल घटेपनि कतिपय भने सामानहरु सस्तो पाइने भएकोले सुनौलीमै गएका छन् ।
चाडपर्वको बेलामात्र होइन, विगत केही महिना अघिदेखि नै सुनौलीको व्यापार निरन्तर ओरालो लागिरहेको छ । नेपाली बजारमा सही मूल्यमा गुणस्तरीय सामान पाउने हो भने थलिएको सुनौलीबजार कहिल्यै नउठ्ने नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रीय अध्यक्ष डा.शान्तकुमार शर्माको दाबी छ ।
नेपाली व्यापारीले उपभोक्तालाई आकर्षित गर्न सके भारतीय बजारमै झुम्मिनुपर्ने बाध्यता अन्य हुने थियो ।









प्रतिक्रिया दिनुहोस्