काठमाडौं, कात्तिक १८ । तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । कृषिप्रधान मुलुक नेपाल अझै फूलमा आत्मनिर्भर हुन सकेको छैन ।
तिहार नजिकिँदै गर्दा धेरै ठाउँमा फूल अभाव देखिए पनि पूर्वी पहाडि जिल्ला धनकुटा भने फूलमा आत्मनिर्भर देखिएको छ ।
जताततै तिहारको चहलपहल बढिरहेको छ । धेरैका घरआँगन वरपर फुलिरहेका विभिन्न फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । फाट्टफुट्ट रुपमा घर वरपर आफूलाई चाहिने फूल रोपे पनि व्यावसायिक रुपमा फूल खेती गर्नेहरु भने अत्यन्त न्यून छन् ।
धनकुटाको धनकुटा नगरपालिका–३ का करिब दुईसय परिवारले भने व्यावसायिक रुपमै फूलखेती गरिरहेका छन् । यो वडा फूलमा आत्मानिर्भरमात्र नभइ निर्यातको अवस्थामा पुगेको वडाध्यक्ष विकास घिमिरे बताउँछन् ।
यहाँ प्रतिपरिवार वार्षिक २० हजारदेखि दुई लाख रुपैयाँसम्मको फूल बिक्री हुने गरेको छ । यो बर्षबाट सुरु गरेको हाइब्रिड फूलले भने स्थानीय जातको तुलनामा आम्दानी र उत्पादन ६ गुणासम्म बढि हुने गरेको स्थानीय फूल कृषक बताउँछन् ।
यस्तै इलाममा यस वर्ष मखमली र सयपत्री फूलको अभाव छ । तिहारमा आवश्यक पर्ने मखमली र सयपत्री फूलको व्यवसायिक खेती नभएकाले प्लास्टिकका फूलको आयात बढेको देखिन्छ ।
उता झापाको बिर्तामोडका ३५ जना महिलाले उद्यमी समूह गठन गरेर सामुहिक फूल खेती गरिरहेका छन् । यसका अलावा अन्य ठाउँमा पनि व्यावसायिक फूलखेतीका केही प्रयास भएका छन् जसले सम्पूर्ण रुपमा फुलको मागलाई धान्न नसके पनि केही सहयोग भने भएकै छ ।









प्रतिक्रिया दिनुहोस्