
इस्लामावाद, कात्तिक १८ । पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएकी क्रिस्चियन महिला आसिया बीबीलाई सर्वोच्च अदालतले निर्दोष सावित गरिदिएपछि कट्टरपन्थीहरुले देशका प्रमुख सहरमा दैनिक विरोध प्रदर्शन गरिरहँदा उनका पतिले अमेरिका, बेलायत र क्यानडासँग सहयोगको माग गरेका छन् ।
आसिया बीबीका पति आशिक मसिहले पाकिस्तानमा आफूहरुको ज्यान खतरामा रहेको भन्दै सहयोगको माग गरेका हुन् । उनले एउटा भिडियो सन्देश जारी गर्दै बेलायती प्रधानमन्त्रीसँग सहयोग माग गरेका छन् । उनले अमेरिका र क्यानडाका नेताहरुसँग पनि यस्तै किसिमको सहयोगको माग गरेका छन् ।
यसअघि पनि उनले एक साक्षात्कारमा आफू र आफ्नो परिवार पाकिस्तानमा असुरक्षित भएको बताएका थिए । आसिया बीबीलाई विगत आठ वर्षदेखि इस्लाम धर्मको निन्दा गरेको आरोपमा जेलमा राखिएको थियो । उनलाई पाकिस्तानमा पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउँदै आसिया बीबीलाई निर्दोष ठहर गरेको थियो ।
सर्वोच्च अदालतको फैसलाको विरोधमा पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शन नियन्त्रण गर्न पाकिस्तान सरकारले कट्टरपन्थी इस्लामिक पार्टीसँग एक सम्झौता गरेको थियो । सम्झौतामा आसिया बीबीलाई देश छाडेर जान अनुमति नदिने उल्लेख छ ।
सम्झौताको विरोध गर्दै मसिहले न्यायपालिकामाथि दबाब दिने गलत परिपाटी बसालिएको आरोप लगाएका छन् । उनले पाकिस्तानमा आफूहरुलाई कुनै सुरक्षा नभएको, आफ्नी पत्नीलाई अझै जेलमा राखिएको र आफ्ना बालबालिकाले उनलाई भेट्न चाहेको बताएका छन् ।
यता आसियाका तर्फबाट बहस गर्दै आएका वकिल सेफ मुलोकले भने सुरक्षाको कारण देखाउँदै पाकिस्तान छाडेका छन् । मुलुक छोडेपछि मात्र आसियाको पक्षमा काम गर्न सक्ने अवस्था आएको भन्दै उनले मुलुक छोडेको बताइएको छ ।
सन् २०१० मा आसियामाथि पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेकोमा दोषी ठहर गरिएको थियो । तर उनले आरोप अस्वीकार गरेकी थिइन् । सर्वोच्च अदालतले अहिले आसियाकै पक्षमा फैसला गरेपछि पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्