काठमाडौं, कात्तिक १७ । धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० विन्दुमा रहेको कारोबार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलव ९८ विन्दुमा पुगेको छ ।
साताभर एक दिनमात्र उकालो लागेको सेयरबजार चार दिन भने लगातार ओरालो लाग्यो ।
नेप्सेकाअनुसार यस साता बजारमा १८३ कम्पनीको कारोबार भएको छ ।
नेप्से बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अंकमा आइपुगेको छ ।
नेप्से घट्दा यस साता लगानीकर्ताले रु २३ अर्ब ९८ करोड गुमाएका छन् ।
अघिल्लो साताको अन्तिम दिन रु १४ खर्ब ८० अर्ब ६० करोड रहेको कुल बजार पुँजीकरण यस साताको अन्तिम दिन रु १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबारकक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।
यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनैपनि कारोबार भएन । यस साता नेप्सेमा कुनै कम्पनीका सेयर सूचीकरण भएनन् । रासस









प्रतिक्रिया दिनुहोस्